सिन्धुपाल्चोक, पुस ४ गते । यहाँको पाँचपोखरी थाङपाल गाउँपालिकाको भोटेनाम्लाङ र थाङ्पालथापमा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
विशेषज्ञ चिकित्सकसहित जिल्ला जनस्वास्थ्य कार्यालय, चौतारा अस्पताल तथा पाँचपोखरी थाङपाल गाउँपालिकाको समन्वयमा आयोजित दुईदिने स्वास्थ्य शिविरमा सामान्य चिकित्सा, बालरोग, नाक, कान, घाँटी, आँखा, दाँत, मुख, स्त्री तथा प्रसूति, स्वास्थ्य परीक्षण, उपचार र परामर्श सेवा प्रदान गरिएको छ ।
शिविरबाट पाँच हजार तीन सय ५१ जनाले सेवा लिएको चौतारा अस्पतालका सूचना अधिकारी डा. अमरदीप शाहले बताउनुभयो । ग्रामीण भेग र आर्थिक अभावका कारण अस्पताल जान नसकेका बिरामीले शिविरबाट लाभ लिएको गाउँपालिकाका प्रवक्ता नारायण भट्टराईले बताउनुभयो ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले प्रदेशभित्रका दुर्गम स्थानमा स्वास्थ्यसेवा प्रदान गर्न मन्त्रालयले काम गरिरहेको जानकारी गराउनुभयो । बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङले रोग तथा समस्याका बारेमा निर्धक्क भएर डाक्टरहरु माझ राख्न स्थानीयलाई आग्रह गर्नुभयो । गाउँपालिका अध्यक्ष टासी लामाले पालिकाको आठवटै वडामा बर्थिङ सेन्टर सञ्चालन गरेर सेवा दिइरहेको उल्लेख गर्दै आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मी उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।रासस