• २३ माघ २०८१, बुधबार

जिते बजारको चहलपहल दोभानमा सर्‍यो

blog

कालीकोट समाचारदाता 

कालीकोट, पुस ४ गते  ।  कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका र नरहरिनाथ गाउँपालिकाको सीमा क्षेत्रको जिते बजार अहिले पूरै खाली छ । कुनै समय हाटबजारले निकै चहलपहल हुने कर्णाली तथा तिला नदीको मिलनविन्दुमा रहेको जिते क्षेत्र अहिले सुनसान भएको हो । 

वर्षा सकिएको र हिउँदको सिजन भएकाले दुवै नदीमा पानीको बहाव निकै घटेको छ । किनारबाट बगिरहेका दुई नदी पश्चिम क्षेत्रबाट कर्णाली र पूर्व क्षेत्रबाट बग्ने तिला नदीको मिलन बिस्तारै भइरहेको छ । पलाँता गाउँपालिका–९ का स्थानीय पूर्णबहादुर बमले जितेमा दुई नदीबिचको मिलनविन्दु निकै आकर्षकका साथै चहलपहल हुने जिते बजार भने सुनसान भएको बताउनुहुन्छ । 

दुई नदी आफ्नै गतिमा बगेर तलसम्म आआफ्नो क्षेत्र ओगटेको छ भने अलि तल पुगेपछि समायोजन भएका छन् । तिला नदीको मिलन क्षेत्र ओरालो भएकाले कर्णालीमा सबै सँगै मिसिन्छ । बर्सातको समयमा झन् ताल परेर बग्ने गरेको छ । स्थानीय प्रेमबहादुर मल्लले यहाँको पहाड, तल बग्ने नदी र उताको कर्णाली राजमार्ग, कर्णाली कोरिडोरले जितेको यो क्षेत्रलाई हेर्नलायक बनाएको बताउनुभयो । बजार हटे पनि दुई नदीको मिलनविन्दुका कारणले मान्छेको चहलपहल भइरहेको छ ।