कोकिला ढकाल
इलाम, पुस ४ गते । छिर्के, फुर्के र गानो कुहिने रोगले बगान सखाप भएपछि निराश भएका अलैँची किसानलाई यतिबेला भने निकै उत्साह थपिएको छ । पछिल्लो साता १२ वर्षयताकै उच्च मूल्य (प्रतिमन एक लाख १० हजारमा रुपियाँ) मा कारोबार भइरहेको अलैँचीले गर्दा अहिले पूर्वी पहाडका गाउँ गाउँको आर्थिक क्षेत्र निकै चलायमान भएको छ ।
अलैँचीको पुराना बगान मासिएर नयाँ बगान विस्तार गरिरहेका किसान त अझ हौसिएको माई मझुवाका किसान गिरिराज खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “एक पटक बिरुवा लगाएर छाडिदिने होइन, यसलाई पनि पटक पटक मलजल, गोडमेल, बगानको सरसफाइ गर्नु आवश्यक छ । जाँगर चलाउँदा अब पैसाकै लागि बिदेसिनुपर्ने अवस्था छैन भन्ने अलैँची खेतीले प्रमाणित गरेको छ । यस वर्ष अलैँचीको मूल्य राम्रो भयो, यस्तै भाउ कायम रहे धेरै युवाले गाउँघरमै बसेर उद्यम गर्छन्, हामी उत्साही छौँ ।”
खनालले ४५ रोपनी जमिनमा अलैँची खेती गर्नुभएको छ । यो बगानमा गत वर्षभन्दा दोब्बर अलैँची यस वर्ष फलेको खनालले बताउनुभयो । करिब १० वर्ष वैदेशिक रोजगारीमा बसेर फर्केपछि उहाँ २०७४ सालको स्थानीय तह निर्वाचनमा खनाल सन्दकपुर गाउँपालिका–२ को वडाध्यक्षसमेत हुनुभएको थियो । खनाल केही महिनाअघिसम्म एक राजनीतिक दलको पालिका अध्यक्षसमेत हुनुहुन्थ्यो । राजनीतिमा लागेर जनप्रतिनिधि भए पनि आफैँ स्वरोजगार बन्नु पर्छ र गाउँमै खेतीकिसानीमा अरू युवालाई पनि प्रोत्साहन गर्न आफू लागि परेको खनाल बताउनुहुन्छ ।
पूर्वी पहाडमा नगद आर्जनको राम्रो स्रोत बनेको अलैँचीको मूल्य करिब एक महिनायता अलैँचीको मूल्य प्रतिमन एक लाख १० हजार रुपियाँमा आएर स्थिर रहेको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौड्यालले बताउनुभयो । उहाँका अनुसार अहिले गाउँबाट करिब ७० प्रतिशत अलैँची बजार आइसकेको छ ।
जिल्लाका बिब्ल्याँटे, फिक्कल, नयाँबजार, मङ्गलबारेलगायत बजारमा अलैँचीको कारोबार भइरहेको छ । सन्दकपुर, माईजोगमाई, देउमाई, रोङलगायतका पालिकामा अलैँची उत्पादन धेरै हुने गरेको छ ।
जिल्लामा बर्सेनि तीन अर्ब रुपियाँको हाराहारीको अलैँचीको कारोबार हुने गरेको अनुमान गर्न सकिने वाणिज्य सङ्घका अध्यक्ष पौड्याल बताउनुहुन्छ । पौड्यालका अनुसार २०७९ सालमा इलाममा अलैँची प्रतिमन ३२ हजार रुपियाँमा कारोबार भएको थियो । २०८० सालमा ६० हजार पुगेको अलैँचीको मूल्य अहिले एक लाख १० हजार रुपियाँ पुगेको हो । १० वर्षअघि पनि अलैँचीको मूल्य प्रतिमन लाख रुपियाँ नाघेको थियो ।
मूल्य उच्च भएसँगै अहिले किसानले अलैँची खेती विस्तारका लागि बारी तयार गर्ने, बिरुवा उत्पादनका लागि ब्याड राख्ने जस्ता काम थालेको बताइएको छ । देशको १७ हजार चार हेक्टरमा अलैँची खेती हुने गरेको अलैँची विकास केन्द्र पान्दामले जनाएको छ ।
यता चालु आव २०८१/८२ को मङ्सिरसम्ममा तीन अर्ब ४५ करोड ६३ लाख ४७ हजार रुपियाँ मूल्य बराबरको २० लाख ७४ हजार पाँच सय किलो अलैँची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।