इमान सिं राना
रामपुर (पाल्पा), पुस ३ गते। गृहमन्त्री रमेश लेखकले सरकार शान्ति सुरक्षा पूर्णरुपले कायम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ। लोकतन्त्रको पूर्ण सुनिश्चितताको पूर्ण शर्त शान्ति सुरक्षा रहेको भन्दै सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो।
इलाका प्रशासन कार्यालय रामपुरको नवनिर्मित भवनको उट्घाटन गर्नुहुँदै मन्त्री लेखकले शान्ति सुरक्षा भएन भने अन्य कुनै पनि सेवा प्रदान गर्न नसकिने बताउनुभयो।
“लोकतन्त्रको पूर्ण सुनिश्चितताको पूर्ण शर्त शान्ति सुरक्षा हो। यदि देशमा शान्ति सुरक्षा र विधिको शासन भएन भने कुनै पनि सेवा दिन सकिँदैन। यो सरकार मुलुकमा शान्ति सुरक्षालाई पूर्ण रुपले कायम गर्ने कुरामा प्रतिबद्ध छ”, उहाँले भन्नुभयो।
सरकारले उद्योग धन्दा, व्यवसाय, नागरिकलाई दिने सेवा सबै कुराको लागि पूर्ण रुपले शान्ति सुरक्षा प्रदान गर्दै आएको बताउनुभयो। देशमा भ्रष्टाचार अन्त्य गरेर सुशासन कायम गर्नका लागि दुई ठूला दल मिलेर सरकार बनाएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “यो देशमा जतिसुकै ठूला मान्छे किन नहोस् यदि अपराध गरेको छ भने कानुन बमोजिम अनुसन्धान हुन्छ। न्यायिक प्रक्रियामा जानु पर्छ।”
नगरिकलाई सहज र सरल रुपले सेवा प्रदान गर्नका लागि सरकार लागिरहेको बताउनुभयो। “सरकारको पहिलो प्राथमिकता भनेको नागरिकलाई सेवा प्रदान गर्नु हो। हामी यो विषयमा चिन्तित छौं। नागरिकलाई कुनै समस्या नहुने गरेर सेवा दिन हामी लाग्छौं।”
कार्यक्रमको अवसरमा कार्यालयमा राहदानी र राष्ट्रिय परिचय पत्र सेवाको शुभारम्भ गर्नुहुँदै उहाँले कर्मचारीको अभाव र कुनै पनि सामाग्रीको कारणले कुनै पनि हालतमा सेवा अवरुद्ध हुन नदिने प्रतिवद्धता जनाउनुभयो। फरक प्रसंगमा उहाँले रामपुर देशको सम्भावना युक्त स्थान भएको भन्दै मुख्य जीवन रेखा कालीगण्डकी करिडोर भएको बताउनुभयो। उहाँले भन्नुभयो, “दुई ठूला अर्थतन्त्र भएका देशहरुलाई जोड्ने मुल बाटो खोलेका छौं। यो बाटोमा रामपुर पनि परेको छ। यहाँको भविष्य छ।” सरकारले हामीले केही समय अघि मात्र कोरोलामा गएर अध्यागमन कार्यालय स्थापना गरेको जानकारी दिनुभयो।
कार्यक्रममा गृह सचिव गोकर्णमणि दुवाडीले सरकारी सेवा सुविधालाई सरल र सहज रुपमा प्रदान गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले अअब लाईन लागेर नभै अनलाइन बाटै सेवा प्रवाहका लागि सरकार लागेको बताउनु भयो। प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले पाल्पाको रामपुर क्षेत्र बाट महत्त्वपूर्ण कार्यहरुको सुरुवात हुँदै आएको स्मरण गराउँदै पाल्पामा सबै राजनैतिक दल सहकार्य गरेर अघि बढेको बताउनुभयो।
राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले धार्मिक तथा आर्थिक हिसाबमा कालीगण्डकी उपत्यका सम्भावना भएको स्थान भएको बताउँदै कालीगण्डकी करिडोरले यहाँका जनताको भाग्य रेखा कोरेको बताउनुभयो। लुम्बिनी प्रदेशसभा अर्थ, उद्योग तथा पर्यटन उपसमितिका सभापति राजुप्रसाद श्रेष्ठले यहाँको विकासको लागि जनप्रतिनिधि निरन्तर रुपमा लाग्दै आएपनि नतिजा दिन नसक्दा जनतामा निराशा छाएको बताउनुभयो। लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर रानाले मुलुकको समृद्धिको पक्षमा सबै राजनीतिक दलहरु एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले नीतिगत सम्बोधन हुने गरी सरकारले समस्याको निकास दिनुपर्ने बताउनुभयो। रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले रामपुर नगर र जिल्लाको पूर्वी क्षेत्रका पालिकाको शान्ति सुरक्षाका लागि रामपुरमा डिएसपी सहितको प्रहरी दरबन्दी र सशस्त्र प्रहरी बलको क्याम्प आवश्यक रहेको आवश्यक रहेको बताउनुभयो। धार्मिक नदी कालीगण्डकीलाई डाइभर्सन गर्नु कुरा कुनै हालतमा मान्य नहुने बताउनुभयो।
नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष कमलराज तिमिल्सिनाले आफ्नै भवनबाट सेवा प्रवाहसँगै सेवा विस्तार हुनु खुशीको कुरा रहेको बताउनुभयो। १४ कोठा सहितको कार्यालयको भवन चार करोड ३४ लाखमा निर्माण भएको जानकारी दिँदै पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले भवन निर्माणसँगै राहदानी र राष्ट्रिय परिचय पत्र सेवा शुभारम्भ गरिएको जानकारी दिनुभयो।
२०७३ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालयले रामपुर नगरपालिका, निस्दी र पूर्वखोला गरी जिल्लाको तीन पालिका भित्रका १७ वडाका नागरिकलाई सेवा प्रदान गर्दै आएको छ।