• ३ पुस २०८१, बुधबार

स्याङ्जामा एक अर्ब १२ करोडको सुन्तला उत्पादन

blog

अर्जुनचौपारी गाउँपालिका-१ का अग्रणी कृष फणीनारायण अर्यालको बगैँचा । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, पुस ३ गते । सुन्तला उत्पादनमा अग्रणी जिल्ला स्याङ्जामा यस वर्ष एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय रुपियाँको सुन्तला उत्पादन भएको छ । जिल्लामा दुई हजार २८० हेक्टरमा सुन्तला लगाइएकोमा एक हजार ३७० हेक्टरमा सुन्तला फलेको हो । 

यस आर्थिक वर्षमा यस आर्थिक वर्षमा ९७ मेट्रिक टन सुन्तला बढी उत्पादन भएको छ भने गत आर्थिक वर्षमा १९ हजार ८७ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । सुन्तला उत्पादन बढे पनि मूल्य गत वर्षभन्दा औसतमा चार रुपियाँले घट्दा दुई करोड पाँच लाख १४ हजार आठ सय रुपियाँको कम उत्पादन भएको हो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोनले ४२ बगैँचामा क्रप कटिङ गरेपछि सुन्तला उत्पादनको औसत सार्वजनिक गरेको हो । गत वर्ष ६० रुपियाँ प्रतिकिलो सुन्तला बिक्री भएको थियो भने यो वर्ष औसतमा ५६ रुपियाँ प्रतिकिलो विक्री भैरहेको छ । सुन्तला रसिलो र दाना चिल्लो हुने भएकाले उपभोक्ताको रोजाइमा स्याङ्जाको सुन्तला पर्ने गरेको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोनका वरिष्ठ कृषि विकास अधिकृत अजय अधिकारीले उत्पादनशील बगैँचाको क्षेत्रफल यस वर्ष ५० हेक्टरले बढेको बताउनुभयो । उहाँले गत आर्थिक वर्षभन्दा यस आर्थिक वर्षमा १३० हेक्टरमा सुन्तला लगााइएको बताउनुभयो । यहाँ आन्तरिक खपत १० प्रतिशत अर्थात दुई हजार ८४.२ मेट्रिक टन छ भने अन्य सुन्तला जिल्ला बाहिर खपत भएको छ ।

यहाँ प्रति हेक्टर १४.६६ मे.ट. सुन्तला फलेको हो भने गत साल उत्पादकत्व १४.४६ थियो । ११ स्थानीय तह रहेको जिल्लमा सबैभन्दा बढी पुतलीबजार नगरपालिकामा सुन्तला उत्पादन हुँदै आएको छ भने भीरकोट, वालिङ, गल्याङ नगरपालिका, अर्जुन चौपारीमा मुख्य पकेट क्षेत्र छन्। 

बिरुवा, आँधीखोला, फेदिखोला, बिरुवा र हरिनास गाउँपालिकामा नयाँ पकेट क्षेत्र विस्तार गरिएको छ । उत्पादन भएको सुन्तला ६० प्रतिशतमा फलेको हो भने ४० प्रतिशत  नयाँ साना बिरुवा रहेको कार्यालयका सूचना अधिकारी कृषि अधिकृत प्रतिभा बुढाथोकी क्षेत्रीले बताउनुभयो । नयाँ क्षेत्र विस्तार र नयाँ बोट फल्दै जादाँ हरेक बर्ष यहाँ सुन्तला उत्पादन बढ्दै जाने अनुमान कार्यालयले गरेको छ । यहाँ एकै व्यक्तिले हरेक वर्ष एक लाखदेखि ५० लाखसम्मको उत्पादन गर्ने गरेका छन् ।