• ३ पुस २०८१, बुधबार

‘दलित सशक्तीकरण विधेयक छिट्टै पास हुन्छ’

blog

वीरेन्द्रनगर समाचारदाता

सुर्खेत, पुस ३ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सभामा पेस भएको दलित सशक्तीकरणसम्बन्धी विधेयक छिट्टै पास हुने बताउनुभएको छ । दलित अधिकारका लागि एकीकृत आन्दोलनका अगुवासँग मङ्गलबार  भेट गर्दै मुख्यमन्त्री कँडेलले आफूले प्रदेश सरकारको नेतृत्व समालेपछि प्रदेश सभामा पेस भएको उक्त विधेयक हाल विषयगत समितिमा छलफलको क्रममा रहेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री कँडेलले अघिल्लै कार्यकालमा पास हुनुपर्ने सो विधेयकमा राखिएका प्रस्तावित विषयलाई छलफल गरेर निष्कर्षमा पु¥याउने काम विषयगत समितिले गरिरहेको बताउनुभयो । “प्रदेश सभालाई छिटोभन्दा छिटो प्रतिवेदन बुझाउने गरी समितिले आफ्नो काम गरिरहेको मैले जानकारी पाएको छु,” मुख्यमन्त्री कँडेलले भन्नुभयो, “तपाईंहरूका तर्फबाट पनि कुनै विषय छन् भने समितिका सदस्यलाई जानकारी गराउनुहोला ।” 

प्रदेश सभाको अघिल्लो कार्यकालमा पेस भए पनि दलित सशक्तीकरणसम्बन्धी विधेयक प्रदेश सभामा टेबल नै नभई फिर्ता भएको तर यस पटक उक्त घटना नदोहोरिने पनि मुख्यमन्त्री कँडेलले छलफलको क्रममा जानकारी गराउनुभयो । सरकार आफैँले विधेयक दर्ता गरिसकेपछि त्यसलाई प्रदेश सभाबाट पास गराउने जिम्मेवारी पनि प्रदेश सभाको भएको बताउँदै मुख्यमन्त्री कँडेलले समय ढिलो चाँडो होला तर विधेयक पास गराउनेतर्फ सरकारको पूरै ध्यान जान्छ ।”

मुख्यमन्त्री कँडेलले दलित समुदायको हक, हित र उत्थानका लागि प्रदेश सरकारका तर्फबाट विशेष ध्यान गएको बताउँदै यस वर्ष कार्यान्वयन हुने गरी पाँच करोड विनियोजन गरेको जानकारी पनि दिनुभयो । दलित विधेयक छ वर्षदेखि प्रदेश सभाबाट पास हुन नसकेको भन्दै दलित अधिकारका लागि एकीकृत आन्दोलनको संस्थाले मङ्गलबार मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेको थियो । आन्दोलनका अगुवालाई मुख्यमन्त्री कँडेलले आफँै बोलाएर छलफल गर्नुभएको हो ।