• २ पुस २०८१, मङ्गलबार

करिब ३० वर्षपछि मुख्यालय पुनः कब्जा गरेको म्यानमा विद्रोहीहरुको दाबी

blog

बैङ्कक, पुस २ गते । म्यानमाको एउटा जातीय विद्रोही समूहले मङ्गलबार म्यानमाको सेनाबाट आफ्नो मुख्यालय पुनः कब्जा गरेको बताएको छ । उक्त मुख्यालयबाट उक्त विद्रोही समूहलाई करिब ३० वर्षअघि बलपूर्वक निष्कासित गरिएको थियो ।

करेन नेसनल युनियन (केएनयु) का लडाकूहरुले केही दिनको लडाइँपछि थाई सीमामा रहेको मानेरप्लाव कब्जा गरेको केएनयुका नेता साव थामाइन टुनले बताउनुभयो । “म्यानमाका जुन्ता सैनिकहरु अझै पनि यसलाई फिर्ता लिन चाहन्छन् र उनीहरुले ड्रोन प्रयोग गरे र हाम्रो सेनामाथि बम प्रहार गर्ने प्रयास गरे”, उहाँले भन्नुभयो, “तर हाम्रा सेनाले आधार कब्जा गरिसकेका छन् ।” 

वर्षौसम्म केएनयुको करेन अल्पसङ्ख्यकको अधिकारका लागि दशकौँ लामो सशस्त्र सङ्घर्षको मुख्यालय थियो र त्यहाँ म्यानमाको तत्कालीन जुन्ताविरुद्ध अन्य विरोधी राजनीतिज्ञहरू पनि थिए । इसाई बहुल केएनयुभित्र विभाजन भएपछि जुन्ता र विभाजित बौद्ध गुटले सन् १९९५ मा आधार कब्जा गरे । यसबाट हजारौँ मानिस थाइल्यान्ड पलायन हुन बाध्य भए ।

मानेरप्लावको पतनपछि जुन्ताले कायिन राज्यको नाम परिवर्तन गरी एउटा सहयोगी सशस्त्र समूह, डेमोक्रेटिक कायिन बौद्ध सङ्गठनलाई यसको जिम्मा दियो । सन् २०२१ मा पछिल्लो विद्रोहपछि केएनयुले वर्तमान जुन्तासँग बारम्बार झडप गरेको छ र सेनालाई अपदस्थ गर्न खोज्ने अन्य विरोधीहरुलाई आश्रय र प्रशिक्षण प्रदान गरेको छ । 

“मानेरप्लाव करेनहरूका लागि एउटा ऐतिहासिक स्थान थियो”, साव थामाइन टुनले भन्नुभयो । यहाँ करिब एक सय सैनिकलाई गाडिएको छ । “हामीले सबैको सम्मान गर्न यस क्षेत्रलाई पुनर्निर्माण गर्नुपर्छ”, उहाँले भन्नुभयो । सन् २०२१ को सैन्य अध्यादेशपछि म्यानमा अशान्त छ । अध्यादेशले केएनयु जस्ता विद्रोही समूहहरुसँग नयाँ लडाइँ सुरु गर्यो र देशभरि सैन्य शासनविरुद्ध लड्ने धेरै लोकतान्त्रिक ‘जनताको सुरक्षा बल’ लाई जन्म दियो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार लडाइँका कारण ३० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । द्वन्द्वले नियमितरुपमा थाइल्यान्डसँग म्यानमाको दुई हजार चार सय किलोमिटर सीमा पार गरेर हजारौँलाई पलायन गराउँछ । रासस/एएफपी