• २७ वैशाख २०८२, शनिबार

बाँझो जग्गामा किवी खेती

blog

कालीगण्डकी गाउँपालिका १ सिरकोटमा उत्पादन भएको किवी । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, पुस २ गते । वर्षौंदेखि वनमाराले ढाकेको बाँझो जग्गामा ४० क्विन्टल किवी उत्पादन भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका-१ सिरकोटमा वर्षौंदेखि बाँझाे राखिएकाे जग्गालाई सदुपयोग गर्दै २३ जना युवा मिलेर पाँच सय ४० रोपनी क्षेत्रफलमा व्यवसायिक रुपमा किवी खेती गरेका हुन् । 

अहिले तीन सय बिरुवाले उत्पादन दिएकाले ४० क्विन्टल किवी बिक्री गरेको युवा व्यवसायी लक्ष्मीपति न्यौपानेले जानकारी दिनुभयो । प्रति किलो तीन सय रुपियाँका दरले किवी बिक्री गरेको उहाँको भनाइ छ । किवी गाउँबाटै पनि बिक्री भएको र गाउँबाट बिक्री हुन नसकेको किवी बुटवलमा लगेर बिक्री गरेको उहाँले बताउनुभयो । यस वर्ष किवी बिक्रीबाट करिब १२ लाख आम्दानी गरेको न्यौपानेले बताउनुभयो ।

वर्षौंदेखि खेर गइरहेको जग्गालाई सदुपयोग गरी पाँच सय ४० रोपनी क्षेत्रफलमा छ हजार सात सय बिरुवा रोपण गरी व्यावसायिक रुपमा किवी खेती गरिएको उन्नतिशील कृषि फलफूल तथा पशुपंक्षी कृषक समूहका अध्यक्ष पदमपानी पाण्डेले बताउनुभयो । पहिले सुरुमा किवी खेतीको बारेमा सुनेको मात्रै भएपनि पछि यसबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने उद्येश्यका साथ आफूहरुले समूह नै बनाएर सामूहिक किवी खेतीको सुरुवात गरेको उहाँको भनाइ छ । 

पछिल्लो समयमा युवाशक्ति विदेश पलायन हुने गरेको र देशमा सम्भावना भए पनि सम्भावनाको खोजीमा लाग्ने चेष्टा नगरेको समूहका सदस्य तथा कृषक लक्ष्मीपति न्यौपाने बताउनुहुन्छ । आफूहरुले देशका विभिन्न स्थानमा गरिएको किवी खेतीको बारेमा अध्ययन अवलोकन गरी सिरकोटमा पनि सम्भावना देखेर किवी खेती गर्ने आँट लिएको उहाँको भनाइ छ । आफूहरुले गरेको किवी खेती हेर्नका लागि विभिन्न स्थानहरुबाट कृषक समूह, सहकारीहरु आउने गरेको र आफूहरुले गर्दै आएको किवी खेतीका बारेमा अनुभव आदानप्रदान गर्दै आएको न्यौपानेले बताउनुभयो ।

युवालाई विदेश जानुभन्दा पनि स्वदेशको माटोबाटै मनग्य उत्पादन र आम्दानी गर्न सकिने भएकाले अर्काको देशमा जानका लागि रहर नगर्न र स्वदेशमा नै रहेको सम्भावनाको खोजीमा लाग्न उहाँले सुझाव दिनुभयो । पैसा र आम्दानी खाडीमा भन्दा पनि स्वदेशकै झाडीमा रहेको उहाँको दाबी छ । 

२०६४ सालमा भार्सेका कृषकले सङ्खुवासभाबाट किवीका बिरुवा ल्याएर लगाएकाले जिल्लामै पहिलो पटक भार्सेबाट किवी खेतीको सुरवात भएको मानिन्छ। समुद्री सतहदेखि एक हजार दुई  सय मिटरभन्दा माथिको भूभागमा किवी खेती हुने गर्दछ ।  जिल्लामा एक हजार दुई  सय मिटरमाथिका भू भाग धेरै रहेकाले किवी खेतीका लागि राम्रो सम्भावना रहेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ। 

जिल्लाको कालीगण्डकी, चन्द्रकोट, सत्यवती, मुसिकोट, रेसुङ्गा नगरपालिकालगायत जिल्लाका १२ वटै स्थानीयतहमा खेती गर्न योग्य स्थान छन् ।