• ४ असार २०८२, बुधबार

सप्तरीको राजविराज-रुपनी र कठौना-पातो सडकखण्ड अवरुद्ध

blog

राजविराज–रुपनी सडकखण्ड अन्तर्गत राजविराज नपा-९ मलेठस्थित स्थानीयले गरेको सडक जाम । तस्बिर : देवरामप्रसाद यादव

देवराम प्रसाद यादव

सप्तरी, पुस २ गते । सप्तरीको राजविराज नगरपालिका-९ मलेठस्थित राजविराज–रुपनी र कठौना–पातो सडकखण्डमा मङ्गलबार चक्काजाम गरिएको छ। सडक निर्माण तथा धुलो नियन्त्रणको माग गर्दै मध्यान्ह १२  बजेदेखि स्थानीयले सडक अवरुद्ध गरेको हो । 

सडकमा टायर बालेर तथा बाँस तेर्साएर सडक अवरुद्ध गरि स्थानीयले विरोध प्रदर्शन गरेपछि उक्त बाटो भएर चल्ने सवारी साधनहरु बाटोमै रोकिएको थियो । शान्तिपूर्ण रुपबाट सुनुवाइ नभएपछि आक्रोशित स्थानीयले सडक अवरुद्ध गरेपछि यात्रुहरु सास्ती खेप्न बाध्य भएका छन् । 

भत्काएर छोडिएको सडकमा धुलो उड्न नदिन ठेकेदारलाई पानीको व्यवस्था गर्न लगाउनुपर्ने, सडक निर्माणको कार्य तुरुन्तै सुरु गर्नुपर्नेसहितका माग राखी आन्दोलनमा उत्रिएको स्थानीय रामचन्द्र यादवले बताउनुभयाे । 

निर्माण कम्पनीले सडक भत्काएर छोडेपछि सवारीसाधन आवतजावत गर्दा धुलो उडेर घरभित्रै परेर समस्या भएपछि पानीको व्यवस्था गर्न माग राखी आन्दोलनमा उत्रिनुपरेको स्थानीय सचिन साहले बताउनुभयो । सडक अलपत्र छोड्दा प्रदूषण बढेर पर्यावरण बिग्रिएकोले धुलो नियन्त्रणका लागि ठेकेदारलाई पटकपटक भन्दा पनि सुनुवाइ नहुँदा सङ्घर्षमा उत्रिएको स्थानीय युवा शैलेन्द्र यादवले बताउनुभयो । 

ठेकेदार सञ्जीव साहलाई आफूहरुको समस्याबारे ध्यानाकर्षण गराउँदा मोबाइल अफ गरेर बस्ने गरेको स्थानीय राजकुमार यादवले आरोप लगाए । 

स्थानीय प्रशासनले माग पूरा गर्न पहल गर्ने आश्वासन दिए पनि समस्या ज्यूकात्यूँ रहेकोले फेरी सडक जाम गर्न बाध्य भएको उहाँले जानकारी दिनुभयो । 

स्थानीयले यसअघि पनि पानीको व्यवस्था र सडक निर्माणको माग राखी पटकपटक सडक अवरुद्ध गर्दै आएका छन् । यसै बिच जिल्लाको डाक्नेश्वरी नगरपालिका ७ मझौरामा मङ्गलबार कठौना–पातो भित्री सडकखण्ड चक्काचाम गरिएको छ । सडक निर्माण कार्य अलपत्र हुँदा धुलो उडेर समस्यामा परेका आक्रोशित स्थानीयवासीले विहान ९ बजेदेखि सडक अवरुद्ध गरेको हो ।

स्थानीयले सडकमा बाँस तेर्साएर सडक अवरुद्ध गरेपछि उक्त मार्ग भएर चल्ने सवारी साधन बाटैमा रोकिएको छ । सडक अवरुद्ध हुँदा सयौंको सङ्ख्यामा यात्रुहरुले सास्ती खेप्न बाध्य भएका छन् । 

धुलो नियन्त्रणका लागि नगरपालिका र निर्माण कम्पनीसँग पटकपटक आग्रह गर्दा समेत सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको स्थानीय बताउँछन । उहाँहरुले धुलो नियन्त्रण गरी सडक निर्माण कार्यलाई अगाडि नबढाएसम्म चक्काजाम जारी राख्ने चेतावनी दिएका छन् । 

पूर्व प्रदेश सभा सदस्य विदेश्वरकुमार यादवले धुलोका कारण जनजीवन प्रभावित हुँदा सरोकारवाला निकाय गम्भीर नदेखिएको भन्दै आपत्ति व्यक्त गरेका छन् । उहाँले नगरप्रमुख, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य तथा स्थानीय प्रशासनिक समेत मौन रहेको सञ्चारकर्मीलाई बताउनुभयो । 

‘पातो कठौना सडकखण्ड निर्माण अलपत्र परेपछि सडकबाट उड्ने धुलोले स्थानीयको स्वास्थ्यमा समस्या परेको डाक्नेश्वरी नपा–७ मझोउरा गाउँवासीद्वारा सडक जाम गरी विरोध प्रदर्शनमा उत्रिएका छन् । स्थानीयहरुले ‘ठेकेदार, प्रशासन र जनप्रतिनिधिको अत्तोपत्तो नभएको बताउँदै सडकमा पानी पटाउनुपर्ने हो तर ठेकेदार कम्पनी निर्माणकार्य अलपत्र छाडेका छन । स्थानीयवासीहरुले समस्या समाधानमा गम्भीर हुन सम्बन्धित पक्षसँग जोडदार माग गरेका छन् ।