दिलबहादुर सिंह
डोटी, पुस २ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित हुनुभएको छ । एमाले डोटीको नवौं जिल्ला अधिवेशनबाट निकटम प्रतिद्वन्दी शेरबहादुर मल्ललाई पराजित गर्दै मलासी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
मङ्गलबार बिहान सार्वजनिक भएको निर्वाचन परिणाम अनुसार मलासीले आफ्ना प्रतिस्पर्धी शेरबहादुर मल्ललाई ४४ मत बढी ल्याउनुभएको छ । मलासीले दुई सय १५ प्राप्त गर्दा मल्लले एक सय ७१ मत प्राप्त गर्नुभएको थियो ।
मङ्सिर २८ गतेबाट सुरु भएको नवौं डोटी जिल्ला अधिवेशनमा चार सय १२ जना प्रतितिधि रहेका थिए । निर्वाचन समितिका संयोजक अधिवक्ता नवराज भट्टका अनुसार सोमबार सम्पन्न भएको निर्वाचनमा तीन सय ९३ जना प्रतिनिधिहरुले मतदान गर्नु भएको थियो ।
अधिवेशनबाट जिल्ला कमिटी उपाध्यक्ष पदमा खगेन्द्र बढैला, सचिवमा पदमराज भट्ट, खुला उपसचिवमा डम्मरसिंह डौडी र महिला उपसचिवमा बिस्ना देवी सिंह निर्वाचित हुनुभएको छ । २०८० चैतमा सम्पन्न हुनुपर्ने एमाले डोटीको जिल्ला अधिवेशन प्रतिनिधि छनोटमा विवाद उत्पन्न भएपछि २०८१ मङ्सिरमा सारिएको थियो ।