बिन्दु थापा
पाल्पा, पुस २ गते । पाल्पाको सदरमुकाम तानसेनमा दैनिक ३० लाख लिटर खानेपानीको आवश्यकता पर्ने गरेको तानसेन खानेपानी उपभोक्ता समिति तानसेकाका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । अहिले तानसेन खानेपानीका विभिन्न ट्याङ्कीमा २० लाख लिटर पानी दैनिक जम्मा हुने गरेको छ ।
दैनिक रुपमा २० लाख लिटर खानेपानी मात्र आपूर्ति हुँदा उपभोक्ताले अभाव सहनु नपरेको श्रेष्ठको भनाइ छ । बर्सेनि तानसेनको जनसङ्ख्या बढ्नु, लामो खडेरीले पानीका मुहान सुकेपछि तानसेन खानेपानी उपभोक्ता समितिलाई खानेपानीको प्रबन्ध गर्न कठिनाइ हुने गरेको भएपनि खडेरीमा समेत पानीको अभाव नहुने गरी खानेपानी वितरण गरिएको अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताउनुभयो ।
पछिल्लो समयमा धारामा खानेपानी प्रशस्त आउने गरेकोले पानी धेरै भयो भनेर फोन गर्नुपर्ने अवस्था आएको तानसेन नगरपालिका ३ का दुर्गे किशोर श्रेष्ठले बताउनुभयो । उहाँले दिन बिराएर पानी आउने भए पनि प्रशस्त हुनेगरी पानी आएपछि खुसी भएको बताउनुभयो ।
भुल्के, सिस्ने, बाझा होलाङ्दी, काली गण्डकीबाट पानी तानसेन चार हजार पाँच सय धारामार्फत ३५ हजार बढीले खानेपानीको उपभोग गर्दै आएको तानसेन खानेपानी उपभोक्ता समितिका रामबहादुर कुँवरले बताउनुभयो । भुल्के चार पम्प, सिस्नेमा चार पम्प, तिनधारामा एक पम्म र कालिगण्डकीबाट ७ पम्प सञ्चालनमा छन् ।
बर्सेनि तानसेनमा गाउँबाट बसाइँसराइ गरी तानसेन आउने, सरकारी तथा गैरसकारी कार्यालय थपिँदै जाने र खानेपानी उपभोक्ता समितिले खानेपानीको आवश्यकताअनुसार खानेपानीको प्रबन्ध गर्न कठिनाइ हुने समस्या अहिले समाधान भएको स्थानीय नारायण रायमाझीले बताउनुभयो । घरमा खानेपानीको धारो जडान गरे पनि ट्याङ्करको पानी किन्ने र मुहान खोजेर पानीको जोहो गर्नुपरेको यहाँका उपभोक्ताको गुनासो अहिले हटेको छ । तानसेन २ बडिज्ञानटोलकी उपभोक्ता पुष्पा बस्यालले पानीको महसुल तिर्दा चसक्क हुने मन अहिले खुसी हुने गरेको बताउनुभयो ।
बस्यालले भन्नुभयो, “पहिले पानी भोर्न र कपडा धुन हतारहतार हुन्थ्यो अहिले धारा बन्द गर्न हतार हुन्छ । ”