अविनाश चौधरी
धनगढी, पुस २ गते । कैलालीको धनगढी उपमहानगरपालिका-७ मा रहेको जाखोर ताल क्षेत्रमा चराको बासस्थानमा सुधार भएको छ । तालको जथाभावी दोहनलाई रोक्नुका साथै ताल क्षेत्रमा रहेको जलकुम्भी हटाइएपछि चराको बासस्थानमा सुधार भएको हो ।
केही वर्ष पहिले सो ताल क्षेत्रलाई पुरै जलकुम्भीले ढाकेको थियो । त्यहाँ रहेको जलकुम्भी हटाउनुका साथै जलीय वनस्पति र जीव संरक्षणको कार्य अगाडि बढाइएको वनस्पति अनुसन्धान केन्द्र कैलालीका प्रमुख गंगादत्त भट्टले बताउनुभयो ।
“ताललाई जलकुम्भीले ढाकिसकेपछि चराहरु बस्दैनथे”, उहाँले भन्नुभयो, “हामीले जलकुम्भी हटाएर चराचुरुङ्गीले मन पराउने जलीय वनस्पति र जीव संरक्षण गरिरहेका छौं । त्यसले चराको बासस्थानमा सुधार भएको छ ।”
देवहरिया वनस्पति उद्यानमा रहेको जाखोर तालमा केही वर्ष अगाडिसम्म माछा पालन गर्नुका साथै मनलाग्दी दोहनको कार्य भएको थियो । हाल सो तालबाट कमलको फूल पनि टिप्न बन्देज गरिएको छ। जलकुम्भी मिचाहा प्रजाति भएकाले कथमकदाचित फेरि आएमा त्यसलाई तुरुन्त हटाउने कार्य गर्नुका साथै ताल संरक्षणमा जोड दिइएको जनाइएको छ ।
जाखोर तालमा बासस्थान सुधार भएपछि पहिलेको तुलनामा अचेल चराको उपस्थिति बढेको चराविद् हिरुलाल डङ्गौराले बताउनुभयो । उहाँले चरा अवलोकनका लागि जाखोर ताल राम्रो गन्तव्य रहेको उल्लेख गर्नुभयो ।