घोडाघोडी(कैलाली) पुस २ गते । मुलुकको कानुनले बहुविवाहलाई दण्डनीय अपराध मानेको धेरै वर्ष भयो । मुलुकी अपराध संहिता २०७४ ले बहुविवाह गर्नेलाई ५ वर्षसम्म कैदको व्यवस्था पनि गरेको छ ।
सुदूरपश्चिममा भने बहुविवाह गरेर आफूमाथि अन्याय गर्ने श्रीमानलाई महिलाले मुद्दै नगरी छोडिदिने गरेका धेरै उदाहरण भेटिन्छन् । तिनैमध्ये एक कैलालीको घोडाघोडी नगरपालिका– १ सुखडकी दुर्गा क्षेत्री हुनुहुन्छ । आफू अन्यायमा परेको थाहा हुँदाहुँदै उहाँले दोस्रो बिहे गर्ने श्रीमानसँग मुद्दा नगरी सहमतिमा बस्न बाध्य हुनुभयो ।
नौ वर्ष पहिले आठकक्षा पढ्दै गर्दा एउटै विद्यालयमा पढ्ने विवेक क्षेत्रीसँग उहाँले प्रेम विवाह गर्नुभएको थियो । बल्ल २३ वर्ष पुग्दै गरेकी दुर्गाका पाँचवर्षे छोरी र एक वर्षका छोरा छन् ।
विवेकले भने १२ कक्षा पास गरेपछि नजिकैको पर्यटकीय क्षेत्र घोडाघोडीमा फोटो खिच्ने काम गर्न थालेका थिए । त्यही क्रममा कन्चनपुरकी एक किशोरीसँग विवेक नजिकिएका रहेछन् । २०८१ मङ्सिर पहिलो साता उनै किशोरीलाई विवेकले कान्छी श्रीमती भन्दै घर भित्र्याएपछि दुर्गा तनाबमा हुनुहुन्छ । आफ्नो ‘न दिनमा भोक छ न रातमा निद्रा’ दुर्गाले भन्नुभयो ।
विवेकले ल्याएकी ती किशोरीको विवाह गर्ने उमेर पनि पुगेको छैन । १७ वर्षीया ती किशोरीलाई पनि विवेकले आफ्नी श्रीमती र छोराछोरी छन् भन्ने कुरा ढाँटेका रहेछन् । सुरूमा विवेकका आमा र काकाहरूले भने ती युवतीलाई सम्झाइ बुझाइ गरेर घर पठाइदिएका थिए । एकहप्ता नपुग्दै विवेक गएर लिएर आए । दुर्गा के गर्ने भन्ने कुरा सोच्न पनि नसक्ने स्थितिमा हुनुहुन्थ्यो । छोरीको हालत देखेपछि दुर्गाकी आमाले विवेकविरूद्ध प्रहरीमा उजुर गर्नुभयो । विवेक र दीपा दुवै पक्राउ परे।
यता दुर्गालाई भने परिवार र माइतीको अलग अलग प्रेसर आउन थाल्यो । परिवारले बहुविवाहको मुद्दा नलगाओस् भन्ने चाहन्थे । माइती भने ती किशोरीलाई विवेकबाट छुटाउन वा बहुविवाहको मुद्दा लगाउनुपर्छ भन्नेमा थिए ।
विवेकले दोस्री श्रीमती बनाउन भनेर घर ल्याएकी किशोरीकी आमाले आफ्नी छोरी लैजान राजी हुनुभयो । तर किशोरी भने विवेकलाई छोड्न तयार भइनन् । पक्राउ परेको केही दिनमा प्रहरीले एक–दिनभरि समस्याको निकास लागि छलफल गर्ने समय दियो ।
विवेकको घर, दुर्गाको माइती र ती किशोरीकी आमा बसेर छलफल गरे । विवेकले बाल र बहुविवाह दुवै गरेकाले उनलाई निकै अप्ठेरो हुन सक्छ भन्ने सबैले बुझिसकेका थिए । विवाह गरेमा किशोरीलाई समेत मुद्दा लैजान पर्थ्यो ।
‘त्यसपछि भने लिखित जाहेरी र मुद्दामा नजाने सहमति गर्यौँ,’ दुर्गाले भन्नुभयो । प्रहरीले पनि किशोरीलाई उनकी आमाको जिम्मा लगाइदियो । प्रहरीले जिम्मा लगाइदिए पनि उनी आमासँग जान मानिनन् । त्यसपछि फेरि अर्को लिखित सहमति गरे ।
‘विवेकको नाममा आउने अचल सम्पत्ति मेरो नाममा गरिदिने, छोराछोरी र श्रीमती दुबैलाई मिलाएर लैजाने लिखित सहमति भएको छ,’ दुर्गाले भन्नुभयो । आफूसँग सहमति गर्नुको विकल्प नभएको उहाँको भनाइ छ ।
घोडाघोडीका शर्मिलाले (परिवर्तिन नाम) सोही ठेगाना भएका नरेन्द्रसँग १४ वर्षअघि प्रेम विवाह गर्नुभएको थियो । उनीहरूका १३ वर्षीया छोरी र ७ वर्षका छोरा छन् । चारजनाको सुखी परिवार थियो ।
श्रीमानले शर्मिलाकी बहिनी नाता पर्नेसँग दोस्रो बिहे गरे । ‘मलाई त्यति धेरै माया गर्ने श्रीमानले अर्को केटीतिर नजर लाउँछ भनेर कल्पना पनि गरेकी थिइनँ मैले । हामीकहाँ घरमा पढ्न बसेकी आफ्नै सानीमाकी छोरीसँग लाग्यो,’ उनले भनिन्, ‘म अहिले उनीहरूलाई अलग्गै बस्न भनेर आफू घरमा बसेकी छु ।’ तीनवर्ष आफूसँगै बसेकी बहिनीसँग आफ्ना श्रीमानको सम्बन्ध थाहा पाएपछि शर्मिलाले सँगै बस्न भन्नुभएको थियो ।
उहाँ भन्नुहुन्छ, ‘जति सम्पत्ति छ सबै मेरो मेहनतले कमाएको हो, एकटुक्रा सम्पत्ति पनि दिन्न घरमा पनि बस्न दिन्न भनेँ । अलगै बस्छन् । छोराछोरीले पनि बावुको खासै वास्ता गर्दैनन ्।’
शर्मिला जस्तै बहुविवाहको मारमा पर्नुभएको छ, घोडाघोडीकै रिता ( परिवर्तित नाम) । बाँकेकी रिता र घोडाघोडीका रमेशसँग १८ बर्ष पहिले प्रेम विवाह भएको थियो । उहाँको पनि १५ वर्षकी छोरी र ९ वर्षको छोरा छन् ।
उहाँ सरकारी विद्यालयको प्राथमिक तहको राहत शिक्षक हुनुहुन्छ। दुईवर्ष अघिसम्म जीवन ठिकठाक चलेको थियो । आफ्नो श्रीमानको बानी पहिलैदेखि बाहिर धेरै डुल्ने र केटी साथी बनाउने भए पनि घरमै भित्र्याउलान् भन्ने उहाँलाई लागेको थिएन रे । तर रमेश एकजना नजिकैको युवतीसँग प्रेममा परे । ती युवती गर्भवती भएपछि मात्र रिताले थाहा पाउनुभयो । रिताले श्रीमानसँग सम्बन्ध राखेकी ती युवतीलाई समेत अलग हुन सम्झाउनुभयो । उनी मानिनन् । रिताको केही सिप लागेन । रमेशका परिवारले उल्टै दोस्रो विवाहलाई सहमति दिन आफूलाई दबाब दिएको रिता बताउनुहुन्छ ।
कानुनले बहुविवाहलाई बन्देज गरेको थाहा हुँदाहुँदै परिवारको दबाबले घर ल्याउने सहमति दिएको बाध्यता सुनाउनुहुन्छ । ‘मैले सहमति दिएर घर नल्याउँदासम्म मलाई परिवारबाट निकै दबाब आयो । देउता हेराउनेदेखि ग्रहदशा बिग्रेको सबै ठिक हुन्छ भन्ने पारे । अनि बाध्यताले श्रीमानको दोस्रो विवाहलाई स्विकार्नु पर्याे,’ रिताले भन्नुभयो ।
दोस्रो बिहे गरे पनि सुरूमा श्रीमानको व्यवहार त्यति फेरिएको थिएन । बच्चा जन्मेपछि श्रीमानले अहिले आफू र छोराछोरीको वास्ता गर्न छोडेको रिताले बताउनुभयो ।
‘अहिले त मलाई डिभोर्स दिएर गए हुन्थ्यो जस्तो व्यवहार देखाउन थालेका छन् । श्रीमानले मात्र होइन परिवारका अरू सदस्य र आफन्तलेसमेत मलाई एक्लो बनाउन थाले । बहुविबाहको मुद्दा दिने कुरा गर्दा उल्टो धम्की दिन्छन्,’ निरास हुदै उहाँले भन्नुभयो ।
आफूमाथि अन्याय भएको थाहा हुँदाहुँदै पनि रिता मुद्दामामिलाको झन्झटमा पर्न चाहनुभएन । बहुविवाहको मुद्दा लगाएपछि सबैबाट घृणा र अपहेलित हुनुपर्छ भन्ने डर रितामा छ ।
यस्तै डरले दुर्गा पनि ग्रसित छन्।
‘अर्को विकल्प नै देखिनँ मैले। बहुविवाहको मुद्दा हालेर श्रीमानलाई जेल त पठाउँला तर माइतमा पनि म कति बसौंला, घरपरिवारको भनाइ कति सुन्नुपर्ला, छोराछोरी एक्लै कसरी हुर्काउँला,’ उहाँले भन्नुभयो ।
आफूसँग सम्पत्ति, जागिर र छोराछोरी छँदै छन् भनेर ढुक्क हुने शर्मिलाले पनि श्रीमानविरूद्ध मुद्दा नहाल्नुको कारण जोरीपारीकै डर हो । कानुनको बारेमा जानकार भए पनि श्रीमानलाई बहुविवाहको मुद्दा लगाएर आफू सबैको नजरमा नराम्रो हुन नचाहेको बताउनुभयो ।
‘छोराछोरी, सम्पत्ति,जागिर सबै मसँग छन्। उसलाई मुद्दा लगाएर आफन्तको नजरमा नराम्रो हुन चाहिनँ । अहिले उ आफैँ पछुताइरहेको छ । छोराछोरीले समेत उसको वास्ता गर्दैनन्,’ शर्मिलाले भन्नुभयो ।
मुलुकी अपराध संहिताको दफा १७५ को १ ले विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न हुदैन भनेको छ । त्यसै गरी सोही दफाको उपदफा २ मा कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरूषसँग कुनै महिलाले विवाह गर्नुहुँदैन भन्ने कानुनी व्यस्था छ ।
उक्त कानुन मिचेमा दफा १७५ कै उपदफा ४ अनुसार एक वर्षदेखि पाँच वर्षसम्म कैद र दश हजार रुपियाँदेखि पचासहजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ । यो कानुनलाई कार्यान्वयन गर्न भने यहाँका महिलाहरूले निकै सकस बेहोर्नुपर्छ । त्यसै कारण धेरै महिलाले यो कानुनअनुसार मुद्दा गर्न नसकेको महिलाअधिकारका क्षेत्रमा काम गर्नेहरूले बताउँछन् ।
ओरेक नेपाल कैलालीका गीता चौधरी बहुविवाह पछिल्लो समय बढ्दै गएको अनुभव गर्नुहुन्छ । उहाँले बहुविवाह पीडित महिलाहरूलाई ओरेकबाट कानुनी परामर्श र प्रक्रियामा सहयोग गर्दै आएको भएर यस्तो अनुभव गर्नुभएको हो ।
‘फौजदारी मुद्दा भए पनि पीडक केही दिनमै धरौटीमा निस्कन्छ, बाहिर निस्केपछि उसले गर्ने व्यवहार र पीडित महिलालाई केटाका परिवारले दिने डर,धाक,धम्कीका कारण महिला मुद्दा लगाउन डराउँछन्,’ उहाँले भन्नुभयो ।
गएको दुई वर्षमा ओरेक नेपाल कैलालीमा बहुविवाह पीडित ११ जना परामर्शका लागि गएको तथ्याङ्क छ । ओरेकको परामर्श र सहयोगले सबै कानुनी प्रक्रिया यामा गए पनि तीन जनाले कान्छी श्रीमती छोड्ने सर्तमा मुद्दा फिर्ता लिएको ओरेकका चौधरीले जानकारी दिनुभयो ।
मुद्दा फिर्ता लिइसकेपछि श्रीमानले कान्छी श्रीमती लिएर भारत गई सम्पर्क विहिन बनेपछि मुद्दा फिर्ता लिने महिलालाई घरपरिवारले कुटपिट गरी घर निकालासम्म गरेको घटना आफूले थाहा पाएको उहाँले सुनाउनुभयो ।
पछिल्लो समय बहुविवाह गर्नेको सङ्ख्या बढेको तर उनीहरूलाई मुद्दा हाल्नेको सङ्ख्या भने घट्दै गएको मानवअधिकारकर्मी सुशीला चौधरीको पनि बुझाइ छ । जिल्लाप्रहरी कार्यालय कैलालीको महिला सेलकी प्रमुख कल्पना पौडेलले साउन यता तीनवटा बहुविवाहको मुद्दा दर्ता भएको जानकारी दिनुभयो ।
प्रहरी कार्यालयको रेकर्डअनुसार आर्थिक वर्ष २०७८।०७९ मा ४१ वटा, २०७९।०८० मा ३४ वटा र २०८०।०८१ मा २८ वटा बहुविवाहका मुद्दा दर्ता भएका थिए । यसले वर्षेनी बहुविवाहका मुद्दामा कमी आएको देखाउँछ । समाजमा बहुविवाहका घटना धेरै भए पनि मुद्दा कम आएको प्रहरी अधिकारीहरू नै बताउँछन् ।
उनीहरूका अनुसार श्रीमानले बहुविवाह गरेको भन्दै उजुरी दर्ता गर्न आएका महिलाहरू अन्तिममा दर्ता नगरि्ी जाने, मौखिक उजुरी दिने प्रहरीले पक्राउ गरेपछि लिखित उजुरी नदिने, मुद्दामा गइसकेपछि बाहिरै मेलमिलाप गरेर होस्टाइल (बयान फेर्ने) हुने जस्ता घटना धेरै छन् । तिनको रेकर्ड समेत प्रहरीले राखेको हुन्न । जसले गर्दा घटना भए पनि मुद्दा सङ्ख्या भने थोरै हुन्छ ।
कैलाली महिला सेलकी प्रमुख अधिकारीले कतिपय बहुविवाहका पीडित पहिला प्रहरी कार्यालयमा आए पनि जाहेरी दिन नमान्ने गरेको अनुभव सुनाउनुभयो ।
‘बहुविवाह पीडित प्रहरी कार्यालयसम्म पुग्नुहुन्छ, उहाँहरुलाई कानुनी प्रक्रियाका लागि जाहेरी दिनुस् भन्छौं । हुन्छ भन्दै निस्कनुहुन्छ तर फर्केर आउनुहुन्न । फोन गरेर बोलाउँदा पनि जाहेरी नदिने भन्नुहुन्छ, त्यस्ता केस वर्षमा छ/सातवटा आउँछन्,’ उहाँले भन्नुभयो ।