पर्सा, पुस १ गते । पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित ईनर्वा तथा विभिन्न नाकाबाट १३ लाख ३६ हजार ९३५ रुपियाँ बराबरको सामानसहित एउटा मोटरसाइकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ना ५३ प ९३०६ नम्बरको मोटरसाइलमा राखेर तथा अन्य यात्रुवाहक सवारीसाधनमा लुकाईछिपाई ल्याउँदै गरेको कस्मेटिक तथा किराना सामान, मोटरपार्टस, कि–प्याड मोबाइल, मोबाइल एसोसेरिज र लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट डिएसपी सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौजले उक्त सामान बरामद गरेको हो । सामान ल्याउने व्यक्तिहरु भने सामान छोडेर फरार भएका छन् ।
बरामद गरिएका सामानसहित मोटरसाइकल आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको डिएसपी थापाले बताउनुभयो ।