• ३० मंसिर २०८१, आइतबार

चासोकका अवसरमा सबै जातिले सामूहिक रुपमा धान नाच

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, मङ्सिर ३० गते। लिम्बू समुदायको मुख्य पर्व चासोक तङ्नाममा अन्य जातिका मानिस समेत उल्लेख्य सहभागी हुन थालेका छन्। मोरङको उर्लाबारीमा आइतबार सुरु भएको चासोक तङ्नाममा प्रतिनिधि सभा सदस्य डिगबहादुर लिम्बूसँग माझी, दनुवार, खसआर्य, धिमाल र नेवार जातिका मानिस पालम बजाउँदै धान नाँच्नु भएको छ। 

हरेक वर्ष धान्य पूर्णिमाको दिन मोरङको उर्लाबारीमा  लिम्बू समुदायले नयाँ अन्न खान सुरु गरेको अवसरमा धुमधामसँग चासोक तङ्नाम मनाउने गरेका छन्। पूर्वमन्त्री एवम् सङ्घीय सांसद डिगबहादुर लिम्बू झण्डै आधा घण्टा पालमको लयमा धान नाँच्नुभयो। उहाँलाई समुदायका सबै जातिले साथ दिए। धान नाच लिम्बू समूदायका पर्वमा नाचिने सांस्कृतिक नाच हो। 

पाँच दिवसीय चासोक तङ्नाम उत्सवको उद्घाटन गर्दै सांसद लिम्बूले जातीय संस्कृति र परम्पराको संरक्षण भए मात्रै जातीय पहिचान जीवित रहने बताउनुभयो। 


उर्लाबारी नगरपालिकाका नगर प्रमुख गङ्गाप्रसाद खरेलले पर्वका नाममा मदिरा सेवन र जुवाजन्य खेल नखेलाउन आग्रह गदै सबै धर्म संस्कृतिको संरक्षणमा नगरपालिकाले मियोको भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो।  

किरात याक्थुम चुम्लुङ उर्लाबारी नगर समितिका अध्यक्ष बानु सुब्बाको सभापतित्वमा भएको कार्यक्रममा सञ्चारकर्मी रुपेन्द्र शेर्मा(लिम्बू) स्वास्थ्यकर्मी गणेश लिम्बू र नेपाली सेनाका उच्च सैनिक अधिकारी होराइजन अन्छङ्वोलाई सम्मान गरिएको थियो।