• ३० मंसिर २०८१, आइतबार

किरात जेरो राई समुदायमा पहिलो पटक साकेला

blog

शेरबहादुर राई

ओखलढुङ्गा, मङ्सिर २९ गते। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका वडा नम्बर १, ३ र ४ लगायत जिल्लाका विभिन्न स्थानमा जेरो राई समुदायको बसोबास छ। प्रकृति पुजक जेरो राईले पहिलो पटक साकेलासहित भूमि पुजा गरेका छन्। 

किरातको महान पर्व उधौलीको अवसरमा सुनकोशी गाउँपालिका–१ आम्बोटमा पहिलो पटक साकेला सहित भूमी पुजा गरिएको हो। यो स्थान किरात राई वस्तीको अन्तिम तथा प्रस्थान थलो मानिन्छ। किरात राई यायोक्खा जिल्ला शाखा ओखलढुङ्गा र स्थानीय प्रतिभावान प्रगतिशील युवा क्लबको आयोजनामा साकेलासहित भूमिको पुजा गरिएको हो। 

पालिकामा रहेका विभिन्न जातजातिको भाषा, संस्कार, सस्कृतिको प्रवद्र्धनका लागि गाउँपालिकाले विशेष योजना बनाएर सहयोग गरिरहेको सुनकोशी गाउँपालिकाका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि कमल तामाङले बताउनुभयो। 

जिल्लाका विभिन्न स्थानमा रहेका राई समुदायको प्रवर्द्धन लागि किरात राई यायोक्खाले काम गरिरहेको जिल्ला अध्यक्ष थगेन्द्रराज राईले बताउनुभयो। 

जेरो राईले उधौली र उभौलीको अवसरमा भूमिको पुजा गरे पनि साकेला सहितको पुजा पहिलो पटक गरिएको बताइएको छ। ओखलढुङ्गा, खोटाङ, सिन्धुली, संखुवासभा लगायत जिल्लामा जेरो भाषी राईको बसोबास छ।