साधन घर्ती
म्याग्दी (दरबाङ), मङ्सिर ३० गते । नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाको अध्यक्षमा हरिकृष्ण गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । गौतमको मात्र अध्यक्ष पदमा उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित हुनुभएको हो । शाखामा पदाधिकारी तथा कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित हुनुभएको छ ।
निर्वाचन समितिका संयोजक तारानाथ शर्माका अनुसार कार्यसमितिको उपाध्यक्षमा दलप्रसाद बिक (अमित), अमृतप्रसाद पौडेल (बास्कुने), सचिवमा ठाकुरप्रसाद आचार्य, कोषाध्यक्षमा साधन राम्जाली, सदस्यमा कमल खत्री र राकेश शर्माको मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित हुनुभएको छ । सचिव पदमा आचार्यविरुद्ध सन्तोष गौतमले दर्ता गर्नुभएको उम्मेदवारी फिर्ता लिएपछि कार्यसमिति सर्वसम्मत बनेको हो ।
यसैगरी, केन्द्रीय परिषद् सदस्यमा विनोद धौलागिरि चयन हुनुभएको छ । गौतम यअघि कार्यसमितिको उपाध्यक्ष हुनुहुन्थ्यो । गौतम बेनी अनलाइन, नागरिक दैनिक, पब्लिक टिभीमा आबद्ध हुनुहुन्छ ।