जीवछ यादव
लहान, मङ्सिर ३० गते । सुखीपुर नगरपालिका–३ सलमपुरमा भरत साहको किराना पसलमा रहेको ग्यास सिलिण्डरबाट ग्यास चुहिएर आगो लाग्दा आठ लाखभन्दा बढीको क्षति भएको इलाका प्रहरी कार्यालय महेशपुर पतारीले जनाएको छ ।
प्रहरी निरीक्षक रविनराज मैनालीका अनुसार शनिबार राती नौ बजेतिर भरत साहको किराना पसलभित्र राखिएको ६ वटा ग्यास सिलिण्डरमा लिक भएर आगो लाग्दा दुई वटा किराना पसलका मालसामानहरु जलेर नष्ट भएको थियो । एक घण्टापछि पुगेको प्रहरीले स्थानीयवासीहरुको सहयोगमा आगो नियणन्त्रणमा लिइरहेको अवस्थामा गोलबजार नगरपालिका र लहान नगरपालिकाबाट पुगेको बारुण यन्त्रले आगो नियन्त्रणमा लिइएको थियो ।
सुलिन्दर दासको पक्की घरको अगाडिको दुई वटा सटर भएको भवनमा स्थानीय सलमपुरवासी भरत साह र अनिल दास किराना पसल गर्दै आइरहेका थिए । भरत साहको पसलमा राखिएको सिलिण्डरमा आगो लागेपछि नजिकै अर्को सटरमा किराना पसल गरिरहेका अलिनल दासले तीन जना बच्चा र परिवार सहित प्रवेशद्वारको सटर खोलेर भाग्न सफल भएपछि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
प्रहरीले जनाए अनुसार किराना भरत साह किराना पसलसँगै प्रिमा ग्यास डिलरसमेत भएकोले ६ थजान ग्यास सिलिण्डर, चिनी एक क्विन्टल, खाने सूर्यमुखी तेल दस कार्टुन, ग्यास चुल्हो दस थान,डिएपी रासायनिक मल दस बोरा, टेष्टी बिस्कुट दस कार्टुन,चाउचाउ पच्चीस कार्टुन, नुन दस बोरा, गहुँ, बिस किलो, कृषि पोटास मल बिस बोरा, जाइकिङ पाउडर दुई क्विन्टल, एनसेल र एनटिसि मोबाइल रिचार्जकार्ड दुई लाख मूल्यको र नगद पचास हजार गरी पाँच लाख २७ हजार र अर्को अनिल दासको किराना पसलबाट एनटिसि र एनसेलको मोबाइल रिचार्जकार्ड पचास हजार, तेल एक कार्टुन, चामल नौ क्विन्टल, नगद, चिउरा एक क्विन्टल, बिस्कुट दुई कार्टुन, दाल भुजिया गरी दुई लाख ८३ हजारको क्षति भएको छ ।
पक्की घरको चारवटा सटर जलेर नष्ट भएको ग्यास सिलिण्डर पड्केर पर्खालमा पुगेको क्षति र भवनमा आगो लागेर धुवाँले कालो भएको क्षतिलाई मूल्याङ्कन गर्दा पचास लाखको हाराहारीमा क्षति पुगेको घरमालिक सुलिन्दर दासले बताउनुभयो ।
सुखीपुर नगरपालिकामा आगो निभाउने बारुण यन्त्र नहुँदा आगो लागेपछि दुई घण्टामा आगो निभाउन वारुणयन्त्र समयमा नआउँदा यत्रो क्षति भएको स्थानीय शिक्षक देवकुमार यादवले बताउनुभयो । उहाँका अनुसार आगो लागेको ठाउँदेखि सय मिटर उत्तरमा रामलीला भइरहेकोले रामलीला हेर्ने दर्शकले आगो लागेको थाहा पाउने बितिकै नियन्त्रणमा लिन गरेको प्रयासबाट थप क्षति हुनबाट जोगिएको बताउनुभयो ।
सुखीपुर नगरपालिकाको बजार क्षेत्रबाट पाँच मिनेटको दूरीमा रहेको आगो लागेको ठाउँसम्म वारुणयन्त्र भएको भए यत्रो क्षति हुने थिएन । दक्षिणी भेगमा पर्ने सुखीपुर नगरपालिकामा गाउँसम्म पुग्ने सडकहरुमा अवरोध अतिक्रमण र वारुणयन्त्र नभएकोले व्यापार व्यवसाय र विपदबाट जोगिन ठूलो समस्या रहेको स्थानीयहरुले दुःखेसो पोख्नुभयो ।
स्थानीय आशिक दासले नगरपालिकालाई एम्बुलेन्स, बारुण यन्त्र र ग्रामीण भेगमा सडक विस्तारमा नगरपालिकाले ध्यान नदिएको माग गर्दै आइरहे पनि सुखीपुर नगरपालिका गम्भीर नभएको पीडा सुनाउनुभयो ।