• २ पुस २०८१, मङ्गलबार

योमरी पुन्हीको विशेषता

blog

नेपाल अधिराज्य बहुउद्देश्यपूर्ण संस्कृतिका अनुयायीको निवास हो । यहाँ प्रत्येक महिनाको धेरै जसो चान्दुतिथिका दिनहरूलाई पवित्र दिन मानी ती तिथिका दिनमा चाडपर्व तथा व्रतोत्सव मनाउने प्रथा छ । त्यस कारण ज्योतिष शास्त्रानुसार चन्द्रमा मृगशिरा नक्षत्रमा पर्ने मार्ग महिनाको धान्यपूर्णिमाको दिनलाई पनि यहाँ एक विशेष चाडपर्व र व्रतोत्सवको दिन मान्ने परम्परागत चलन छ । यस पूर्णिमाको दिन पहाड तथा गाउँघरतिर गैहुँ पूजा गर्ने भनी गोठमा पूजा गर्ने प्रथा छ । अतः पहाड तथा गाउँघर निवासी यस पूर्णिमालाई गैहुँ पूर्णिमा पनि भन्छन् । 

काठमाडौँ उपत्यका निवासीले यस पूर्णिमाको दिन नयाँ धानको चामलबाट बनेको वा पुरानो धानको चामलबाट बनाइएको पीठोले ‘योमरी’ भन्ने विशेष प्रकारको रोटी पकाएर खान्छन् । उक्त पीठोको ‘योमरी’ नामक रोटी चाकुको झोलमा तिलको धुलो मिसाइएको पदार्थभित्र राखी अङ्जीर फलको आकार पारेर बनाइन्छ । खुवा राखी पनि योमरी बनाइन्छ । 

यो पूर्णिमाको दिन बेलुकी साँझ परेपछि तिहारको बखत पहाडतिर ‘भैलो’ र ‘धौसी’ माग्न आउनेहरूले झैँ विशेष किसिमको भाषा भट्याइ माग्न आउने ठिटाठिटीलाई ‘योमरी’ रोटी वितरण गरिन्छ । त्यस कारण त्यस रोटीको नामबाट काठमाडौँ उपत्यकामा यो पूर्णिमा ‘योमरी’ भनेर मनपर्ने रोटीलाई र ‘पुन्ही’ भनेर पूर्णिमालाई भनिन्छ । मार्ग शुक्ल पूर्णिमाका दिन धान वा चामल राखिएको भकारीमा रोटीका कुवेर लक्ष्मी र गणेश बनाएर राखी चार दिनसम्म दिनदिनै विधिपूर्वक पूजा गरी रोटी चढाउने अरूलाई दान गर्ने र आफूहरूले पनि खाने कार्यले गर्दा एक वर्षसम्मका लागि धन सम्पत्ति र अन्न स्थिर रहन्छन् र साथै लाभ पनि हुन्छ भनी धान्यपूर्णिमाको महत्वबारे ‘विष्णु पुराण नारायण बचन’ मा लेखिएको छ । 

फेरि मार्ग शुक्ल पूर्णिमाका दिन पाँचाल देवनिवासी सुचन्द्र नामक गृहस्थ महाजनको दम्पत्ति कतिका भक्तजन रहेछन् भनी बुझ्न कुवेर एकदिन बिहान दरिद्रको रूप धारण गरी हातमा एउटा बिमिरो लिई उक्त महाजनको घरमा माग्न जानु भयो । सुचन्द्र गृहस्थकी धर्मपत्नी सुशीलाले झ्यालबाट तल हेर्दा एक दरिद्र पुरुषले आफ्नो घरमा माग्न आएको देखी झटपट तल ओर्लेर उक्त दरिद्र भेषधारी कुवेरलाई आदर सत्कार गरी घरमाथि लगेर नयाँ लुगालाउन दिई सम्मानपूर्वक अनेक खाद्य पदार्थ खुवाइन् । 

तिनले खुवाएका मिठा मिठा अनेक खाने कुरा खाई सन्तोष भएका दरिद्र भेषधारी कुवेरले खुसी भएर गुप्त कुरा प्रकट गर्दै सुचन्द्र गृहस्थकी धर्मपत्नीलाई आफ्नो सकली रूप देखाउनुभयो । उहाँले तिनलाई चाहिँदो ज्ञान र उट्टिका कुरा सुनाई आफूले लिएर आएको बिमिरो पनि तिनैलाई प्रदान गरेर अन्तर्धान भएर जानुभयो । 

कुवेरले ज्ञान र बुद्धिका कुरा बताउँदा भन्नुभएका कुरा सबै आफ्ना स्वामी सुचन्द्र बृहस्थलाई सुनाएर सल्लाह गरी उक्त सुचन्द्र गृहस्थकी धर्मपत्नीले कुवेरको बाचानुसार तिलको धुलो र चाकुको झोल मिश्रित पदार्थभित्र राखी चामलको पिठोको ‘योमरी’ रोटी र रोटीकै कुवेर देव बनाई अन्न राख्ने भकारी भित्र राखिन् । अनि कुवेरले प्रदान गर्नुभएको बिमिरोलाई पनि त्यही स्थापना गरी विधिपूर्वक चारदिनसम्म छोपेर राखी पूजा गरिन् । त्यस कार्यका साथै अन्न उब्ज र त्यस ‘योमरी’ रोटी अरूलाई दान गरिन् । योमरी रोटी आफूहरूले पनि खाए र उक्त कार्यको प्रभावले गर्दा सुचन्द्र गृहस्थ महाजनको घरमा धन सम्पत्तिको वृद्धि भयो र जति जति खर्च ग¥यो त्यति त्यति नै बढेर आउने पनि भयो । 

त्यसैले सोही बेला देखि उपयुक्त किसिमले मार्ग शुक्ल पूर्णिमाका दिन चाडपर्व मनाउने चलन चलेको हो । यस दिन चाडपर्व मनाएको कार्यले गर्दा घरमा धन सम्पत्ति, अन्न आदिबाट दुःख हुँदैन, निरोगी भएर शरीर राम्रो हुन्छ भनी धान्य पूर्णिमाको महत्वबारे र यस दिन खाइने तथा दान गरिने ‘योमरी’ नामक रोटीको बारे ‘रत्नाबदाने बुद्ध वचन’ मा लेखिएका छन् । 

धान्य पूर्णिमा अर्थात् मार्ग शुक्ल पूर्णिमाका दिन थोरै मानिसले माथि उल्लेख गरिएका शास्त्रोक्त बचन अनुसारका कार्य गरी चाडपर्व र व्रतोत्सव गर्छन् । धेरै जसो मानिसले यस प्रकारका कार्य गर्छन् । बिहानपख अरू अरू चाडपर्व र व्रतोत्सवका दिनमा झैँ नुहाइधुवाइ देवदेवीको दर्शन, पूजन, भजन गर्छन् । साथै धान्य दान पनि गर्छन् । यो दिन विशेष गरी स्वयम्भू चैत्य रहेको स्थान व्रत उपवास बस्ने मानिस धेरै हुन्छन् । कुनै कुनै मानिसले यो दिन देवाली पूजा पनि गर्छन् । यो पूर्णिमाका दिन काठमाडौँदेखि पाँचकोस जति पूर्वस्थित बनेपा नामक स्थानमा रहेको धनेश्वर महादेवको मेला लाग्छ । हजारौँ नरनारी मेला भर्न त्यहाँ जान्छन् र उक्त महादेवको दर्शन पूजन गरी जाग्राम बस्ने, बत्ती बाल्ने आदि कार्य गर्छन् । 

उपर्युक्त शास्त्रोक्त बचन अनुसार मनन गर्दा यो पर्व धार्मिक जस्तो देखिन आए पनि वास्तविक दृष्टिकोणबाट विचार गर्दा स्वास्थ्य लाभका तथा नयाँ धान जस्ता नयाँ नयाँ पदार्थको पैदायश गर्ने प्रेरणा लाभका कुरा देखिन आउँछन् । साथै यो पर्वको उत्पत्ति पनि नयाँ धानबाट प्राप्त चामलको विभिन्न प्रकारले प्रयोग गर्ने ज्ञान प्राप्त भएको बेलादेखि भएको होला भनी अनुमान गर्न सकिन्छ । अन्त्यमा यो पर्व नेवार समुदायको ठुलो पर्वको रूपमा रहेको भन्नुमा उपयुक्त होला । 

Author

शरद श्रेष्ठ