कबिराज घिमिरे
हिले, मङ्सिर २९ गते। धार्मिक तथा पर्यटकीयस्थल मधुगंगा महादेवस्थानमा धान्य पुर्णिमा तथा उधौली पर्वको अवसरमा लाग्ने धार्मिक मेला सुरु भएको छ।
धनकुटा नगरपालिका वडा नम्बर २ मा रहेको यो धार्मिक स्थलमा मेला भर्न, भाकल छिन्न तथा मधुगंगा महादेवको दर्शनको लागि विभिन्न जिल्लाबाट हजारौ भक्तजन आएका छन्।
शनिबारबाट सुरु भएको मेला पुर्णिमाको भोलिपल्ट अर्थात् सोमबारसम्म सञ्चालन हुनेछ। मधुगंगा धामको झरनामा नुहाउने र गुफाभित्र रहेको महादेवथानमा पूजा गर्ने गरिएको छ। यो मन्दिर मधुखोलाको ६० फिट अग्लो झरनासँगै रहेको करिब ६० फिट लामो प्राकृतिक गुफा भित्र अवस्थित छ।
मधुगंगा मन्दिर धनकुटा सदरमुकामबाट करिब १० किलोमिटर पूर्वतर्फ रहेको यो स्थान धनकुटा बजार तथा हिले हुँदै यो स्थानमा पुग्न सकिन्छ। मेला भर्न धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, सुनसरी, मोरङ, झापा, सिराहा, सप्तरीलगायत पूर्वका अधिकांश जिल्लाबाट भक्तजन आउने गरेको धनकुटा नगरपालिका वडा नम्बर दुईका वडाध्यक्ष चन्द्रलाल तामाङ्ले जानकारी दिनुभयो। तीन दिनमा ३० हजार भन्दा बढी दर्शनार्थीले मन्दिरको दर्शन गर्ने तथा मेला भर्ने जनाइएको छ।