• ११ पुस २०८१, बिहिबार

निर्धक्क चियाउने मन (कविता)

blog

मनको कुनाबाट

तिमीलाई चियाउन मन छ । 

अँधेरीमा तिम्रा आहट

सुनिरहन मन छ । 


तिम्रा ती शब्द र स्वर सम्झिँदै 

मौनतामा 

तिनीहरूसँगै भलाकुसारी गर्न मन छ

शीतल हावासँगै आएको 

तिम्रो सम्झनामा

केही आफ्नोपन मिसाएर

तिमीमै विलीन हुन मन छ ।


नभेटिए पनि तिमीलाई

भित्रैदेखि महसुस गर्न मन छ 

होसदेखि बेहोसीसम्म

हररात तिमीलाई नै पुकार्न मन छ ।


सपनाहरू किन नटुक्रिऊन् 

सांसारिक बाधा अडचनले

हरपल 

मनभित्र तिमीलाई नै सजाउन मन छ 

तिम्रै मिठासले यो मन बहकाउन मन छ ।


सबै सीमा मिच्दै यी आँखा

तिमीतिरै पुर्‍याउन मन छ 

मनका कुनाबाट 

तिमीलाई फेरि एक पटक 

निर्धक्क चियाउन मन छ ।