• २९ मंसिर २०८१, शनिबार

निर्माण सामग्रीको मूल्यवृद्धिप्रति आपत्ति

blog

मकवानपुर जिल्लाको मार्खुस्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा नौका विहार गर्दै आन्तरिक पर्यटक । तस्बिर : कविता थापा

मकवानपुर समाचारदाता

हेटौँडा, मङ्सिर २९ गते । पछिल्लो समय निर्माण सामग्रीको अप्रत्याशित रूपमा भएको मूल्यवृद्धिप्रति निर्माण व्यवसायी सङ्घ मकवानपुरले आपत्ति जनाएको छ । सिमेन्ट, छडलगायतका निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धि भएको भन्दै सङ्घले आपत्ति जनाएको हो । 

सङ्घका अध्यक्ष बालगोपाल कँडेलले आर्थिक मन्दीलगायतका समस्या सामना गर्दै आइरहेको वर्तमान अवस्थामा कार्टेलिङ गरी हालै बजारमा सिमेन्ट, छडको मूल्य बढाउँदा निर्माण व्यवसायीले आफ्नो निर्माणको काम गर्नसमेत नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो ।

अव्यावहारिक एवं अवैज्ञानिक ढङ्गले सिमेन्ट उद्योगीले सिमेन्टलगायतका निर्माण सामग्री उत्पादनसँग सम्बन्धित इन्धन ढुवानी, कामदारसहित कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदासमेत कार्टेलिङ गरी पटक पटक गरी प्रतिबोरा सिमेन्टमा दुई सय र डन्डीमा प्रतिकेजी २० रुपियाँका दरले मूल्यवृद्धि गरेको भन्दै सङ्घले जिल्ला प्रशासन कार्यालय मकवानपुरको ध्यानाकर्षण गराएको छ ।

सङ्घले म्याद थपमा देखिएका समस्या समाधान नभएको र हाल निर्माण व्यवसायीको बाँकी रहेको भुक्तानी नभएको हुँदा निर्माण व्यवसायी धराशायी स्थितिमा पुगेको समयमा अप्रत्याशित रूपमा भएको निर्माण सामग्रीको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन सङ्घले माग गरेको छ । 

सङ्घले उपभोक्तालाई राहत दिन हाल बजारका निर्माण सामग्रीमा अत्यधिक रूपले भएको मूल्यवृद्धि नियन्त्रण हुनुपर्ने र अप्रत्याशित मूल्यवृद्धिलाई सम्बोधन हुने गरी जिल्ला दररेट पुनरवलोकन गरी जिल्ला दररेटमा संशोधन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । साथै सङ्घले हालको अप्रत्याशित र अव्यावहारिक मूल्यवृद्धि नियन्त्रण नभए सम्पूर्ण निर्माण क्षेत्र प्रभावित हुने भन्दै यसविरुद्धमा निर्माण व्यवसायी थप आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिइएको छ ।