मुगु समाचारदाता
मुगु, मङ्सिर २९ गते । विसं २०७९ को असोज महिनाको तेस्रो साता भएको भीषण वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा गएको बाढीपहिरोले सयौँ परिवार विस्थापित भएका थिए । विस्थापितको तत्काल सुरक्षित बसोबासको व्यवस्था गरिने भनिएकोमा अझै पनि व्यवस्थापन हुन सकेको छैन ।
सङ्घीय सरकारको निर्णय अनुसार कर्णालीका अन्य जिल्लालगायत मुगु जिल्लालाई पनि बाढीपहिरोको सङ्कटग्रत क्षेत्र घोषणा गरिएको थियो । बाढीपीडितले अहिलेसम्म पनि राहत रकम नपाउँदा उनीहरू अहिलेसम्म छिमेकीको शरणमा बस्दै आएका छन् । बाढीपहिरोले जिल्लाको छायानाथ रारा नगरपालिका, सोरू गाउँपालिका र खत्याड गाउँपालिकाका एक हजार तीन सय घरको पूर्ण तथा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ ।
जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार सङ्घीय सरकारको निर्णय अनुसार मुगु जिल्लालाई पनि सङ्कट क्षेत्र घोषणा गरेको थियो । जिल्लाको छायानाथ रारा नगरपालिका, खत्याड गाउँपालिका र सोरू गाउँपालिका पूर्ण र आंशिक क्षति भएका घरको विवरण सङ्कलन गरेर यथार्थ विवरण उपलब्ध गराइदिन पटक पटक पत्राचार गरेकोमा स्थानीय निकायले क्षति विवरण उपलब्ध नगराइदिँदा बाढीपीडितको लगत सम्पादन गर्न कठिनाइ भएको हो ।
खत्याड गाउँपालिकाका अध्यक्ष अजबहादुर (अमरधोज) शाही भन्नुहुन्छ, “जिल्लाका बाढीपीडितलाई केन्द्रीय सरकारले सङ्कट क्षेत्र घोषणा गरेको नै नाटक जस्तो लाग्यो । राष्ट्रिय विपत् प्राधिकरणको कार्यतालिका अनुसार पुनः प्राविधिकको डिजिटल (यमआइसी) डाटाको मूल्याङ्कन कार्यान्वयन अनुसार बाढीपीडित यकिन गरी राष्ट्रिय विपत् प्राधिकरणलाई सिफारिस गरेको महिनौँ बितिसक्दा पनि सम्बन्धित निकायले बाढीपीडितलाई राहत दिन सकेको छैन ।”
खत्याडका बाढीपीडितलाई केन्द्रीय र प्रदेश सरकारले राहत नदिँदा केही पीडितले आफन्तसँग ऋण लिएर सानोतिनो बास निर्माण गरेर बसेका छन् । आर्थिक अभावका कारण केही बाढीपीडित परिवारसहित रोजगारीका लागि भारत पसेको उहाँले बताउनुभयो । छायानाथ रारा नगरपालिका–६, कोटिला गाउँका गान्टो ऐडीका अनुसार बाढीपहिरोले घर नै भत्काएर बस्ने ठाउँ नभएपछि पालमा ओत लागेर बस्दा चिसो र हिमपातका कारण बालबालिका बिरामी परेका छन् । केही समययता भने छिमेकीको गोठमा बस्दै आएको उहाँले बताउनुभयो ।
“सरकाले हामी बाढीपीडितलाई अनुदानमा घर निर्माण गरिदिने आश्वासन पाएका थियौँ, आसैआसमा २८ महिना बितिसक्यो । घर बनाउनलाई आफूसँग धन छैन । अहिले छिमेकीको घरगोठमा बालबालिकासहित ओत लाग्दै आएका छौँ,” उहाँले भन्नुभयो ।
यस्तै छायानाथ रारा नगरपालिका–८ का कृष्णबहादुर रावल सङ्घीय, प्रदेश र स्थानीय सरकारले यहाँका पीडितलाई न्याय नदिएको जस्तो महसुस भएको बताउनुहुन्छ । “बाढीपहिरोकै कारणले झ्यारी गाउँको पूरै बस्ती पालमा ओत लागेर बस्नुपर्ने बाध्यता रहेको छ । बच्चा र वृद्धवृद्धामा चिसोले स्वास्थ्य समस्या देखिएको छ तर सम्बन्धित निकायको चासो छैन,” उहाँले दुःखेसो पोख्नुभयो ।