कालीकोट समाचारदाता
कालीकोट, मङ्सिर २९ गते । कालीकोट जिल्लाका प्रायः सबै क्षेत्रमा पिउने पानीको अभाव छ । पिउने पानीको आपूर्तिका लागि गाउँमा ट्याङ्की र धाराका संरचना बने पनि धारामा पानी भने आउँदैन । जिल्लाको पलाँता गाउँपालिका–१, खाडाबस्ती पिउने पानीको सधैँ अभाव भइरहने क्षेत्र हो । यहाँ खानेपानीका ट्याङ्की बने पनि पानी आपूर्ति भने भइरहेको छैन ।
यहाँका नागरिकलाई पिउने पानीको अभाव सधैँ हुने हुँदा सरकार र गैरसरकारी संस्थाको लगानीमा खानेपानीका संरचना निर्माण भए पनि पानी भने आपूर्ति हुन सकेको छैन । पानीको स्रोत नहेरी बनाइएका संरचनाले आवश्यकता पूर्ति नहुने भएको हो । पलाँता गाउँपालिकाका निवर्तमान अध्यक्ष लक्ष्मणबहादुर बमले पानीको अभाव हुनु एउटा त स्रोत नभएर हो भने अर्कोतर्फ संरक्षण गर्ने बानी नभएकाले पनि सधैँ अभाव भइरहेको बताउनुभयो । उहाँले नागरिकमा सुविधा खोज्ने तर आफ्नो संरचनाको सुरक्षामा ध्यान नदिने बानीले समस्या भएको बताउनुभयो । पलाँतावासीको पानीको समस्या समाधानका लागि पूर्वमन्त्री खड्कबहादुर विश्वकर्माले निकै प्रयास गर्नुभएको थियो तर उहाँको प्रयास पनि असफल भएको बमको भनाइ छ । केही समय पानी आए पनि लाइन भत्किने र मर्मतको व्यवस्थापन नहुँदा अभाव कायमै रहने गरेको छ । पलाँता–२ का गोरेबहादुर बमले राज्यले नै पलाँता सुक्खा क्षेत्र भनेर घोषणा गरेको भए पनि यहाँको विकासका लागि खासै चासो नदिएको गुनासो गर्नुभयो । “सुक्खा क्षेत्र भनिएको छ, बजेट खासै आउँदैन र मन्त्रालयले दिने योजनामा पनि पलाँता पर्दैन भने कसरी यहाँको विकास हुन्छ,” बमले भन्नुभयो ।
पछिल्लो समयमा कालीकोटमा पानीका स्रोत कम हुँदै जान थालेका छन् । गाउँमा हुने डोजरे विकासले पनि पानीका मुहान धसिन थालेपछि पलाँता मात्र होइन, राम्रो पानीको व्यवस्थापन भएका स्थानीय तहमा पनि पिउने पानीको समस्या छ । सदरमुकाम मान्ममा समेत पिउने पानीको अभाव भइरहेको स्थानीयको भनाइ छ । बजार क्षेत्र विस्तार हुँदै जाँदा पानीको अभाव बढ्दै गएको हो । खाँडाचक्र नगपालिका–१ का वडाध्यक्ष धर्मराज ताम्राकारले पानी आपूर्तिलाई सहज बनाउन गरिएका प्रयास असफल हुँदै आएको बताउनुभयो । उहाँले जलस्रोतमा धनी भएको देशमा पनि नागरिकले पानीको अभाव खेप्नुपर्दा आफैँलाई अप्ठ्यारो लाग्ने गरेको बताउनुभयो । खानेपानी उपभोक्ता समितिले कर्मचारी परिचालन गर्न नसकेका कारण दिगो व्यवस्थापन हुन नसकेको स्थानीयको भनाइ छ ।