• १० वैशाख २०८२, बुधबार

चार दल स्वर्ण महोत्सवमा सहभागी नहुने

blog

नवलपुर समाचारदाता

नवलपुर, मङ्सिर २९ गते । चार राजनीति दलले हुप्सेकोट गाउँपालिका–३ स्थित सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालय, गिरुवारीको स्वर्ण महोत्सव बहिष्कारको घोषणा गरेका छन् । मङ्सिर २९ देखि पुस ३ गतेसम्म सञ्चालन हुने स्वर्ण महोत्सवको गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

नेपाल कम्युनिस्ट पार्टी (एमाले), माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ति निकालेर महोत्सव बहिष्कार गर्ने घोषणा गरेका हुन् । हुप्सेकोट गाउँपालिका र विद्यालयमा विद्यमान बेथितिको अन्त्यका लागि भन्दै कार्यक्रम बहिष्कार गर्नु परेको विज्ञप्तिमा उल्लेख छ । 

अवैध तरिकाबाट विद्यालय सञ्चालनको जिम्मेवारी पाएका व्यक्तिको नेतृत्वमा हुने कार्यक्रममा सहभागिता जनाउन नसकिएको नेकपा (एमाले) हुप्सेकोट गाउँपालिका कमिटीका अध्यक्ष गनबहादुर सारूले बताउनुभयो । विद्यालयका प्रधानाध्यापक रहनुभएका टङ्कनाथ ढकाल अवैध सरुवामार्फत विद्यालयमा हाजिर गराई प्रधानाध्यापकको समेत जिम्मेवारी समालेको, विभेदकारी नीति निर्माण गरी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नियुक्ति गरेको लगायतका कारण विद्यालयको गरिमामा आँच पुगेको विज्ञप्तिमा उल्लेख छ ।

विनयीत्रिवेणी गाउँपालिका–२ को भानुदय माध्यमिक विद्यालयबाट रमानासमेत नलिई विद्यालयका शिक्षक टङ्कनाथ ढकाल सम्पर्कमा नआएको भन्दै विद्यालयले सूचना जारी गरेको थियो । हालसम्म ढकालको दरबन्दी भानुदय माविमा नै रहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको र अदालतमा समेत ढकालको सम्बन्धमा मुद्दा विचाराधीन रहेको अवस्थामा विवादित व्यक्तिको नेतृत्वमा कार्यक्रम आयोजना हुनु र प्रमुख अतिथिका रूपमा गृहमन्त्री सहभागी हुने कार्यक्रम रहनुले अवैध कार्यलाई प्रोत्साहन हुने भन्दै चार दलले संयुक्त रूपमा विरोध गरेको माओवादी केन्द्र हुप्सेकोटका अध्यक्ष टेकनाथ सिग्देलले बताउनुभयो ।

विज्ञप्तिमा हुप्सेकोट गाउँपालिकामा वर्तमान नेतृत्वले लिएको विभेदकारी नीति, कर्मचारी नियुक्तिमा राजनीतिकरण, आर्थिक हिनामिना, प्राकृतिक स्रोतसाधनको दोहनको अत्य गर्दै गाउँपालिकामा सुशासन कायम गर्न पटक पटक चार राजनीतिक दलले गरेको अनुरोधलाई गाउँपालिकाले बेवास्ता गरेको उनीहरूको भनाइ छ ।

हुप्सेकोट गाउँपालिकालाई सवल र आत्मनिर्भर पालिका बनाउन पटक पटक झकझकाउने, ज्ञापनपत्र बुझाउने, विज्ञप्ति बुझाउने जस्ता काम भए पनि त्यसतर्फ कुनै पनि सम्बोधन गर्न वर्तमान नेतृत्व गम्भीर नभएको आरोप लगाइएको छ । गाउँपालिकावासीलाई समान दृष्टिकोणले हेर्ने शैलीको विकास, विद्यमान बेथितिको अन्त्य नहुँदासम्म अबका दिनमा पालिकाले आयोजना गर्ने कुनै पनि कार्यक्रममा चार राजनीतिक दल सहभागी नहुने उल्लेख गर्दै सोही कार्यक्रमको पहिलो आन्दोलनका रूपमा स्वर्ण महोत्सव कार्यक्रम बहिष्कार गरिएको उल्लेख गरिएको छ ।