भैरहवा समाचारदाता
भैरहवा, मङ्सिर २९ गते । एसियाली विकास बैङ्क (एडिबी), सरकार र सिद्धार्थनगर नगरपालिकाको संयुक्त लगानीमा सञ्चालन हुन लागेको युआरएलआइपी योजना अन्तर्गतका विभिन्न सहरी सडक निर्माणका लागि नगरपालिका र निर्माण व्यवसायीबिच सम्झौता भएको छ ।
एक अर्ब १८ करोडको लागतमा उक्त योजना बिहीबार सिद्धार्थनगर नगरपालिका र निर्माण कम्पनी इकेके इन्फ्रास्ट्रक्चर लिमिडेट भारतबिच सम्झौता भएको हो । सम्झौतापश्चात् कार्यदेश पाएको तीन महिनाभित्र निर्माण कम्पनीले योजना सम्पन्न गरिसक्नुपर्ने छ ।
यो योजना अन्तर्गत नाला, फुटपाथ, सेफ्टी रेलिङ, खानेपानी, बिजुली, स्टेटलाइट, सडक कालोपत्रे, आरसिसी ढलान तथा नगर सौन्दर्यीकरणलगायतका काम हुने सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले जानकारी दिनुभयो । उहाँले यो योजनालाई नगरको गौरवको आयोजनाका रूपमा लिइएको र समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रहसमेत गर्नुभयो ।
एडिबीको ऋण लगानीमा ७५ प्रतिशत नेपाल सरकारको अनुदान, १८ प्रतिशत नगर विकास कोष र नगरपालिकाको ऋण सम्झौता तथा बाँकी सात प्रतिशत नगरपालिकाको आन्तरिक स्रोतबाट लगानी हुने नगरपालिकाका योजना शाखाका इन्जिनियर साकार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि एडिबीका आइयुडिपी र आरयुडिपीका योजना सफलतापूर्वक सम्पन्न गरेपश्चात् नगरपालिकाले यो तेस्रो चरणको योजना सुरु गरेको हो ।
अघिल्ला दुई योजनाको उत्कृष्ट व्यवस्थापन गरेबापत नगरपालिका पुरस्कृतसमेत भएको थियो । सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले नगरपालिकाको अथक प्रयासले गर्दा अन्य पालिकामा भन्दा यहाँ ठेक्का प्रक्रिया छिटो भएर योजना लागु हुने चरणमा पुगेको उल्लेख गर्दै निर्माणको क्रममा पनि नगरपालिकाले पूर्ण रूपमा सहजीकरण गर्ने बताउनुभयो ।
एडिबीको ऋण लगानीमा हुने युआरएलआइपी योजना रुपन्देहीका सिद्धार्थनगरसहित तिलोत्तमा, देवदह, सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिकामा पनि आएको छ तर ती पालिकामा यो योजना अहिले अध्ययनकै क्रममा रहेको छ भने सिद्धार्थनगरमा ठेक्का सम्झौतासम्मको चरणमा आएको हो ।
यो योजना अन्तर्गत विभिन्न २७ वटा सडकतर्फ साढे २३ किलोमिटरभन्दा बढी लम्बाइका सडक निर्माण हुने छन् । सडकतर्फ खासगरी सुगरमिल, सुकुनी पथदेखि डन्डा कोरिडोर जाने सडक, भीमकाली पथ, दुर्गा कोलिनीका भित्री सडक निर्माण हुने छन् । सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सम्झौतापश्चात् एक/दुई महिनाभित्र नै यो योजना कार्यान्वयनको चरणमा जाने बताउनुभयो ।
उहाँले यो योजना पूरा हुँदा नगरको विकास थप अगाडि बढ्ने विश्वास लिएको बताउनुभयो । धेरै मेहनत गरेर नगरको रणनीतिक योजनालाई समयमै सुरु गर्न सफल भएको समेत उहाँले बताउनुभयो । निर्माण कम्पनी इकेके इन्फ्रास्ट्रक्चर लिमिडेटका प्रतिनिधि विक्रम गौतमले नगरको गौरवको योजनालाई आफूहरूले समयमै पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।