• ११ पुस २०८१, बिहिबार

‘सोल्टिनी’ मा राई अनुबन्धित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २९ गते  । निर्माणाधीन नेपाली चलचित्र ‘सोल्टिनी’ मा तक्मे बुढाको नामले परिचित कलाकार विल्सनविक्रम राई अनुबन्धित हुनुभएको छ । राईको प्रवेशसँगै चलचित्रको कलाकार टिम बलियो बनेको निर्माण पक्षले जनाएको छ । 

चलचित्रमा राईको भूमिकाबारे भने केही खुलाइएको छैन । यसअघि चलचित्रमा प्रकाश सपुत र परीक्षा लिम्बूलाई अनुबन्धित गरिएको थियो । चलचित्रमा सपुतले ‘भीमसेन पोखरेल’ र लिम्बूले ‘दिलासा राई’ को भूमिका निर्वाह गर्नुहुने छ ।

‘सोल्टिनी’ भोजपुरको कुनै गाउँको जनजीवनमा आधारित रहने छ । चलचित्रका निर्देशक अर्जुन सुवेदीका अनुसार समाजमा विद्यमान अमानवीयता र जातीय भेदभावलाई उजागर गर्दै त्यसविरुद्ध आवाज उठाउने कथा तथा दुई प्रमुख पात्रको अपुरो प्रेमको कथा चलचित्रमा रहने छ । चलचित्रमा प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सब्बु गुरुङलगायतका  कलाकारको पनि अभिनय रहने छ । चलचित्रमा प्रशान्त शिवाकोटी र हर्कुलस बस्नेतको सङ्गीत रहने छ । प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेनमेन्टको सहकार्यमा बन्न लागेको चलचित्रका निर्मातामा रेजिना विस्ट र संसार चौलागाईं रहनुभएको छ । सहनिर्मातामा वसन्त कटुवाल र सुजन अधिकारी हुनुहुन्छ । ट्राइडेन्ट कन्सेप्टले पब्लिसिटी डिजाइन गर्ने छ भने आरआर फिल्म्स् प्रालिले नेपाल र नेपसिनेले विदेशमा चलचित्रको वितरण गर्ने छन् । डिजिटल अधिकार एआर डिजिटलले खरिद गरेको छ ।