फडिन्द्र अधिकारी
लेखनाथ, मङ्सिर २८ गते । पोखराको हिमालय आँखा अस्पतालमा ‘आँखा बा’ उपनामले परिचित प्रा.डा. रामप्रसाद पोखरेलको प्रतिमा अनावरण गरिएको छ । शुक्रबार नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय उपाध्यक्ष प्रा.डा. दिलबहादुर क्षेत्री र हिमालयन आँखा अस्पताल व्यवस्थापन समिति अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले संयुक्त रुपमा अनावरण गर्नुभएको हो ।
प्रा.डा. पोखरेलले नेपालमा आँखाको उपचार सेवा सुरुआत गर्नुभएको थियो । नेपाल नेत्र ज्योति सङ्घका संस्थापकसमेत रहनुभएका पोखरेलको सालिक उहाँको परिवारले उपलब्ध गराएको हो । भारत र बेलायतमा काम गरेपछि सन् १९७१ मा बेलायतबाट नेपाल फर्किएपछि उहाँले वीर अस्पतालबाट काम सुरु गर्नुभएको थियो ।
पोखरेलको जन्म विसं. १९९० जेठ ७ गते धनकुटाको कचिडेमा भएको थियो । १४ वर्षको उमेरमा एसएलसी परीक्षा उत्तीर्ण गरेपछि पोखरेलले भारतको केपी कलेजबाट सन् १९५४ सालमा विज्ञान विषयमा प्रमाणत्रतह, सन् १९५९ सालमा लखनउको किङ्ग जर्ज मेडिकल कलेजबाट एमबिबिएस र भारतमा चिकित्सा विज्ञानमा स्नातक उपाधि हासिल गरेपछि उच्च शिक्षा बेलायतको रोयल कलेज अफ सर्जन इडेनबर्गबाट एफआरसिएससम्म पूरा गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय उपाध्यक्ष प्रा.डा. क्षेत्रीले आँखा बाको प्रतिमाले चिकित्सक एवं कर्मचारीमा सेवा भावना बढेर जाने बताउनुभयो । “हिमालयन आँखा अस्पताल पोखरा अहिले जुन अवस्थामा छ, त्यसमा आँखा बाको योगदान छ,” प्रा.डा. क्षेत्रीले भन्नुभयो, “जग्गा दान र सहयोगको भरमा अस्पताल निर्माण गरी आँखा उपचारमा योगदान पुर्याउनुभयाे ।”