• २७ मंसिर २०८१, बिहिबार

चीन-नेपालमैत्री औद्योगिक पार्क निर्माण प्रकिया अघि बढाउन 'पीडीए' सम्झौता

blog

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर २१ गते । चार वर्षअघि शिलान्यास भएर भौतिक प्रगति शून्य अवस्थामा रहेको चीन–नेपाल मैत्री औद्योगिक पार्क निर्माण प्रकिया अब अघि बढ्ने ढोका खुला भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन अवस्थामा प्रधानमन्त्री नै रहँदा २०७७ फागुन १६ गते शिलान्यास गर्नु भएको पार्कको काम अघि बढ्न सकेको थिएन ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा पार्क निर्माण प्रक्रिया चाँडै अघि बढाउने समझदारी भएपछि भौतिक निर्माणको कामले गति लिने स्थानीयको अपेक्षा छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लीको उपस्थितिमा नेपाल र चीनबीच मङ्गलबार विभिन्न समझदारी पत्रमा हस्ताक्षर हुने क्रममा यो पार्क पनि समावेश भएको छ ।

पार्कको परियोजना विकास सम्झौता (पीडीए) हुन बाँकी छ । जतिसक्दो चाँडो पीडीएमा हस्ताक्षर गरेर चाँडो पार्कको निर्माण र सञ्चालन गर्ने दुई देशले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । लगानी बोर्ड नेपाल र ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजिकल डेभलपमेन्ट जोन इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनीले पार्कलाई तीव्रता दिने र जतिसक्दो चाँडो पीडीए सम्झौतामा हस्ताक्षर गर्दै निर्माण सुरु गर्ने सहमति यसअघि पनि भएको थियो ।

२०८० भदौ ८ गते बसेको लगानी बोर्डको ५५औं बैठकले चीन–नेपाल मैत्री औद्योगिक पार्कको परियोजना विकास सम्झौता (पीडीए) को अन्तिम मस्यौदा तयार गर्न बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको संयोजकत्वमा वार्ता समिति गठन गरेको भए पनि पीडीएको काम अघि बढ्न नसकेको जनाइएको छ ।

पार्कका अध्यक्ष गोविन्द थापाका अनुसार ओली आफैंले शिलान्यास गरेको योजना र अहिले स्वयं उहाँ नै प्रधानमन्त्री रहेकाले पनि अब पीडीएको काम चाँडो भएर काम अघि बढ्ने अवस्था छ । यसभन्दा अघि प्रधानमन्त्री ओलीको सरकार ढलेपछि पार्क निर्माणको काम अघि बढ्न नसकेको बताइने गरेको छ ।

थापाका अनुसार लगानी बोर्डको २०७६ साउन १७ गते बसेको बैठकले चीनको लगानीमा औद्योगिक पार्क निर्माण गर्ने निर्णय गरिसकेको छ । नेपालकै सबैभन्दा ठुलो दक्षिण एसियाकै नमुना हुने भनिएको पार्क निर्माणले १ लाखभन्दा बढिले रोजगारी पाउनेछन् । यो नेपालका लागि एउटा गर्वको परियोजना हुनेछ, थापाले भन्नुभयो ।

चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत निर्माण हुने औद्योगिक पार्कको निर्माण र सञ्चालनको जिम्मा चिनियाँ कम्पनी ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीले पाएको थियो । पहिलो चरणमा कम्तीमा पनि १०० वटा उद्योग स्थापना गर्न ६४ अर्ब लगानी स्वीकृत पनि भइसकेको बताइएको छ ।

झापाको दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाको सङ्गमस्थलमा रतुवा र मावा खोलाको उकास जमिनसहित गरेर २२ सय बिघा जग्गामा निर्माण हुने पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसके पनि काम अघि नबढ्दा स्थानीयहरुले चुनावी नारामात्र भएको भन्न थालिसकेका थिए ।