• १२ पुस २०८१, शुक्रबार

विद्यालयको शैक्षिक गुणस्तर परीक्षण

blog

शैक्षिक गुणस्तर परीक्षणका लागि खटिएका विज्ञहरू सामूहिक छलफल गर्दै । तस्बिर : गोकर्ण दयाल

बैतडी समाचारदाता

बैतडी, मङ्सिर २७ गते । एसइई परीक्षामा सहभागी हुँदै आएका बैतडीका १२९ वटा माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर परीक्षण सुरु भएको   छ । गुणस्तर परीक्षणका लागि २१ जना विज्ञ खटिएका छन् । टोलीको विज्ञमा शिक्षा क्षेत्रमा लामो समय काम गरेर सेवा निवृत्त हुनुभएका सहसचिव, उपसचिव, तत्कालीन जिल्ला शिक्षा अधिकारी र विभिन्न क्याम्पसका प्राध्यापक रहेका छन् । 

विज्ञ टोलीले सोमबारदेखि बुधबारसम्म तीनदिने अभिमुखीकरण कार्यक्रमपश्चात् बुधबारदेखि कार्यक्षेत्रमा खटिएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रका निर्देशक हरिप्रसाद निरौलाले बताउनुभयो । विज्ञ टोलीले विद्यालयको भौतिक संरचना, लगानी र शैक्षिक उपलब्धिका बारेमा शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिसँग भेट गरेर अङ्कभार दिने छन् । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले २०७३ सालदेखि देशभरिका माध्यमिक विद्यालयको गुणस्तर परीक्षण गर्दै बैतडी अन्तिम जिल्लाका रूपमा परीक्षण भइरहेको केन्द्रका  निर्देशक निरौलाले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “शैक्षिक गुणस्तर परीक्षण केन्द्रले हालसम्म देशभरिका करिब छ हजार चार सय माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर परीक्षण गरिसकेको छ । देशभरिका अधिकांश विद्यालयले ४० देखि ७० प्रतिशत अङ्कभन्दा माथि ल्याउन सकेनन् । राम्रो विद्यालय औँलामा गन्न सकिने अवस्था देखिएको छ । बैतडीको अवस्था परीक्षण गरी देशभरिका सबै माविको सामूहिक तथ्याङ्क सरकारलाई बुझाउँछौँ ।”   

लगानी अनुसारको शैक्षिक गुणस्तर कायम भए नभएका बारेमा यस कार्यक्रमले सहयोग पुग्ने गुणस्तर परीक्षणमा खटिनुभएका डा. चन्द्रप्रसाद लुइँटेलले बताउनुभयो । स्थानीय तहको पुनर्संरचनापछि शिक्षा क्षेत्रमा के कस्ता प्रभाव पर्‍यो ? भन्ने कुरा पनि यो अध्ययनले प्रस्ट्याउने उहाँले बताउनुभयो । 

शैक्षिक गुणस्तर परीक्षण गर्दा विज्ञ टोलीका सदस्यले एउटा विद्यालयमा चार दिन बिताउने छन् । विद्यालयको बृहत् अनुगमनपछि ४० प्रतिशतभन्दा कम अङ्क प्राप्त गर्ने कमजोर, ४० देखि ७० प्रतिशतसम्म प्राप्त गर्ने सामान्य, ७० देखि ९० प्रतिशत अङ्क प्राप्त गर्ने मध्यम र ९० प्रतिशतभन्दा बढी अङ्क प्राप्त गर्ने विद्यालय उत्तम वर्गीकरण हुने शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका कार्यालय प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो । 

शैक्षिक गुणस्तर वृद्धि गर्ने उदेश्य अनुरूप परीक्षणको काम भइरहेकाले यसले शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिलाई थप उत्तरदायी बन्न प्रेरित गर्ने शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका परीक्षा फाँट प्रमुख रामचन्द्र भट्टले बताउनुभयो ।