मङ्गलबारे, मङ्सिर २७ गते । किबीभन्दा अलैँचीबाटै दसौँ गुणा फाइदा हुने मकै बारी मासेर किवी लगाएका किसान विनोद खतिवडाले बताउनुभएको छ । “अब यो किवी उखेलेर अलैँची नै लगाउने हो,” खतिवडाले भन्नुभयो । करिब सातदेखि १० वटा किवीका झाङ अटाउने जग्गामा एक मन अलैँची फल्ने भन्दै उहाँले किवीभन्दा अलैँचीबाटै दसौँ गुणा फाइदा हुने बताउनुभयो । सुरुमा मकै छर्ने टार बारीमा हाल करिब २० बोट रोप्नुभएको छ । किवी र अलैँची तुलना गर्दै उहाँले त्यसबेला किवी लगाएको ठाउँमा अलैँची लगाएको भए दुई मनभन्दा माथि फल्ने गरेको अहिलेको भाउमा पनि दुई लाख माथि नै हुने उहाँले बताउनुभयो ।
करिब २० बोट किवीबाट पाँच हजारको पनि आम्दानी नभएको उहाँको भनाइ छ । इलाम सन्दकपुर गाउँपालिकाका किसान विनोद खतिवडाले मात्र होइन, सो क्षेत्रका अधिकांश किसानले बारीमा किवी लगाएका छन् । अलैँची बराबरको मूल्य अन्य खेतीबाट हुन नसक्ने किसान बताउँछन् । अहिले राम्रो गुणस्तरीय किवी प्रतिकिलो एक सयदेखि डेढ सयसम्ममा बिक्री भइरहेको छ तर अलैँची प्रतिकिलो दुई हजार आठ सयमाथिले बिक्री भइरहेको छ । अलैँचीको मूल्य हाल रु. एक लाख १५ हजारसम्मले कारोबार भइरहेको छ ।
कुनैबेला प्रतिकिलो छ सयमाथिले कारोबार भएको किबी हाल बिक्नसमेत समस्या भइरहेको किसानको भनाइ छ । बिक्री भएको किवीसमेत कम मूल्यमा गइरहेको किसान बताउँछन् । किवीमा जुन लागत छ सो अनुसारको आम्दानी नहुने गरेको उनीहरू बताउँछन् । किवीको बजारीकरणमा समस्या रहेको किसान ठाकुर खतिवडाको भनाइ छ । किसान आफैँले बजारीकरण गर्नुपर्ने, मूल्यसमेत आलु बराबर मात्र पाइने गरेको उहाँले बताउनुभयो । सुरुमा किवी गर्ने किसानले बिरुवा र दानाबाट राम्रो आम्दानी गरेको भए पनि हाल सो मूल्य कायम हुन नसक्दा किसानमा निराशा पैदा भएको छ । सोचे जस्तो आम्दानी नभएको किसान रुद्र खतिवडाले बताउनुभयो ।
किवीलाई फलफूलको राजासमेत उपनाम दिइएको छ । एउटै किवीबाट धेरै वटा फलफूलमा पाइने भिटामिन र स्वाद हुने भएकाले यसलाई उच्च गुणस्तरको फलका रूपमा लिइन्छ । तर बजारीकरणमा सरकार तथा सम्बन्धित निकायले चासो नदिएको किसानको आरोप छ ।
धेरै पौष्टिक तत्वले भरिपूर्ण मानिएको किवी फल इलामसहित काभ्रे, पाँचथर, सङ्खुवासभालगायत जिल्लामा समेत खेती हुँदै आएको छ । पश्चिमी जिल्लामा समेत पछिल्लो समय इलामबाट नै बिरुवा जान थालेको छ । किवी फलको खेती तथा उपभोग दर विस्तार हुँदै गएको पाइन्छ ।
यस फलको बोट रोप्दा नै भाले र पोथी प्रजाति पहिचान गरी सँगसँगै रोप्नु पर्छ । भालेपोथीको परागसेचन नभएमा यसको उत्पादन हुँदैन । भमरा, माहुरीलगायतले फूलमा भएको रस चुस्ने क्रममा यसको परागसेचन हुने गरेको छ । यसलाई हाँगा र दिउलबाट पनि थप बिरुवा उत्पादन गर्ने गरिएको छ । रोपेको चौथो वर्षदेखि नै किवी फलको आम्दानी लिन सकिन्छ ।
पहाडी भूभागमा यसको उत्पादन राम्रो हुन्छ । सामुद्रिक सहतदेखि एक हजार दुई सय मिटरदेखि माथि दुई हजार चार सय मिटरसम्मको उचाइमा किवी फलको खेती गर्न सकिने बताइएको छ । यसलाई हाँगा र दिउलबाट पनि थप बिरुवा उत्पादन गर्ने गरिएको छ । रोपेको चौथो वर्षदेखि नै किवी फलको आम्दानी लिन सकिन्छ । पहाडी भूभागमा यसको उत्पादन राम्रो हुन्छ । सामुद्रिक सतहदेखि एक हजार दुई सय मिटरदेखि माथि दुई हजार चार सय मिटरसम्मको उचाइमा किवी फलको खेती गर्न सकिने बताइएको छ ।
इलाममा करिब कुल ७८० हेक्टरमा किवी खेती हुने गरेको कृषि ज्ञान केन्द्र इलामका सूचना अधिकारी तथा कृषि प्रसार अधिकृत जीवन ठाडामगरले बताउनुभयो । अघिल्लो वर्ष दुई हजार ८५२ मेट्रिक टन किवी उत्पादन भएको उहाँले जानकारी दिनुभयो । किवीलाई प्रशोधन गरेर जुस, जामसमेत बनाउन सकिन्छ । जुस, जाम वा अचार बनाउनसमेत पहल गर्ने हो भने किवीलाई पुरानो मूल्यमा फर्काउन सकिने किसानको भनाइ छ ।