चीन, बेन्जाओ, मङ्सिर २६ गते । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) ले चीनमा फोटो प्रर्दशनी आयोजना गरेको छ। चीनको बेन्जाओ फोटोग्राफर एसोसिएसन, चिनियाँ पर्यटन फोटोग्राफर सु छ्यो तथा नेपाल चीन मैत्री सङ्घको सहकार्यमा हिम शृंखलामाथिको उडानले भरिएको नेपाल (सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल) फोटो प्रदर्शनी आयोजना गरिएको हो ।
उक्त फोटो प्रदर्शनीमा नेपालका विभिन्न मिडियामा काम गरिरहेका फोटो पत्रकारले खिचेका मनमोहक पर्यटन क्षेत्र, कला संस्कृति, जीवनशैली तथा विविधता झल्काउने करिब १०० तस्विरहरु सान्तोङ प्रान्तका विभिन्न शहरमा एक महिनासम्म प्रदर्शनीमा राखिनेछ ।
सो प्रदर्शनीका लागि राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) का केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको अध्यक्षतामा १४ सदस्यीय टोली उक्त प्रदर्शनीका लागि चीनको सान्तोङ प्रान्त आइपुगेको हो । उक्त कार्यक्रम सान्तोङ प्रोभिन्सका पूर्व उपप्रचारमन्त्री ह्वाङ्जी चुनको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
सो कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) र बेन्जाओ फोटोग्राफर एसोसिएसनबीच सांस्कृतिक तथा व्यावसायिक फोटोग्राफी सहकार्य गर्ने सम्झौता आदानप्रदान गरिएको थियो । कार्यक्रमलाई सम्बाेधन गर्दै बेन्जाओका परराष्ट्र मामिला निर्देशक पाइमिइले फोटोग्राफीमार्फत नेपाल चीनको मैत्री सम्बन्ध बलियो बनाउनुका साथै चीनको वान बेल्ट वान रोडको अवधारणालाई पनि सहयोग पुग्ने बताउनुभयो ।
एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तले सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्त्वपूर्ण सान्तोङ प्रान्तमा नेपालका मनमोहक फोटोहरू प्रदर्शनी गर्न पाउँदा खुसी लागेको बताउँदै फोटो प्रदर्शनीका माध्यमबाट दुई देशबिचको सम्बन्ध थप सुमधुर बन्नुका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।