• ११ पुस २०८१, बिहिबार

दुई वाणिज्य सङ्घबिच मितेरी सम्बन्ध

blog

सुर्खेत समाचारदाता

सुर्खेत, मङ्सिर २६ गते । कर्णाली प्रदेशको सुर्खेत उद्योग वाणिज्य सङ्घ र लुम्बिनी प्रदेशको औद्योगिक सहर भैरहवाको सिद्धार्थ उद्योग वाणिज्य सङ्घबिच मितेरी सम्बन्ध कायम गरिएको छ । दुवै सङ्घबिच आपसी सम्बन्ध सुदृढीकरण्ण र आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने गरी समन्वय र सहकार्य गर्ने उद्देश्यले दुई उद्योग वाणिज्यबिच मितेरी सम्बन्ध कायम गरिएको हो ।

सोमबार एक समारोहमा सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेल र सिद्धार्थनगरका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले समन्वय सहकार्यको १४ बुँदे समझदारीपत्रमा हस्ताक्षर गर्दै मितेरी सम्बन्ध कायम गर्नुभएको छ । मितेरी लगाउँदा सुर्खेतका अध्यक्ष कँडेलले समकक्षी श्रेष्ठलाई कर्णालीको विशेषता र पहिचान बोकेको अल्लोको टोपी र जुत्ता कोसेली दिनुभयो भने श्रेष्ठले ढाकाटोपी लगाइदिनुभयो । 

बुद्ध जन्मस्थल लुम्बिनी र धार्मिक ऐतिहासिक धरोहर काँक्रेविहारलाई जोड्ने गरी बौद्ध सर्किट स्थापना गरी दुवै क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार एवं प्रवर्धन गर्ने गरी संयुक्त पर्यटन प्याकेज विकास गरिने छ । यस्तै दुवै क्षेत्रमा औद्योगिक तथा व्यापारिक सम्बन्ध विस्तार गर्ने, ज्ञान, सिप, अनुभव र सूचना आदानप्रदान गर्ने र आवश्यकता अनुसार संयुक्त रूपमा कार्यक्रम आयोजना गर्ने सझदारीपत्रमा उल्लेख छ ।

स्थानीय उत्पादनका लागि बजार पहिचान, प्रवर्धन र बजारीकरणका लागि सहकार्य गर्ने, दुवै सङ्घका सदस्य तथा सचिवालय कर्मचारी क्षमता अभिवृद्धिका लागि संयुक्त तालिम, प्रशिक्षण गर्ने, दुवै सहरको औद्योगिक तथा व्यापारिक विकासका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणका लागि संयुक्त रूपमा पहल गर्ने, पैरवी, सहकार्य गर्ने उल्लेख छ । दुई क्षेत्रका उद्योगीले संयुक्त लगानीमा नयाँ उद्योग स्थापना गर्न चाहेको खण्डमा समन्वयकारी भूमिका निर्वाह गर्ने, साझा समस्याको पहिचान तथा निराकरणका लागि सहकार्य गर्ने पनि जनाइएको छ । 

कार्यक्रममा सिद्धार्थ नगरका अध्यक्ष श्रेष्ठले विभिन्न भौगोलिक क्षेत्रका उद्योग वाणिज्य सङ्घबिचको सहकार्य र साझेदारीले समग्र देशको व्यापारिक वातावरणलाई सबल बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुई सङ्घबिचको मितेरी सम्बन्धले दुवै जिल्लाको व्यापार–व्यवसाय विस्तार,  उद्योग र उत्पादनको प्रवर्धन, लगानीका अवसरको सिर्जना गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।