• ७ पुस २०८१, आइतबार

पूर्व नगरप्रमुख शिवाकोटीलाई चार दिन हिरासतमा राख्न अनुमति

blog

लीलाराज खड्का
बिर्तामोड, मङ्सिर २६ गते ।
झापा बिर्तामोडका पूर्व नगरप्रमुख ध्रुबकुमार शिवाकोटीलाई जिल्ला अदालत झापाले चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

सोमबार आफ्नै घरमा घरेलु कामदारको रुपमा राखिएको बालिकालाई पटक –पटक जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा पक्राउ परेका शिवाकोटीलाई मङ्गलबार अनुसन्धानका लागि चार दिन समय थप भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार  चन्दले बताउनुभयो ।

यता लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै बेला बालिका बलात्कार जस्तो जघन्य अपराधमा पक्राउ परेका शिवाकोटीमाथि सत्यतथ्य छानविन गरी हदैसम्मको कारबाही गर्न चार राजनैतिक दलका महिला सङ्गठनले माग गरेका छन् ।

बलात्कारजस्तो जघन्य अपराधमा पक्राउ परेका शिवाकोटीलाई जोगाउने षड्यन्त्र भइरहेको भन्दै विभिन्न राजनीतिक दलनिकट महिला सङ्गठनहरुले प्रेस विज्ञप्तिमार्फत प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।

‘‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान र त्यससम्बन्धी विषयमा विभिन्न छलफल र गोष्ठीहरु चलिरहेकै बेला एउटा राज्यको स्थानीय सरकारको समेत नेतृत्व गरिसकेका व्यक्ति यस्तो हर्कतमा उत्रिनु अत्यन्तै निन्दनीय कार्य भएको र सम्पूर्ण नगरवासीले शिर निहुर्याउनु पर्ने अवस्था सिर्जना भएको छ ।’’ विज्ञप्तिमा भनिएको छ, ‘‘मानवीय मूल्य र मान्यताविपरित गरिएको यस्तो जघन्य अपराधमा संलग्न बिर्तामोडका शिवाकोटीलाई हदैसम्मको कारबाही गरियोस् भनी जोडदार माग गर्दछौं ।’’

महिला सङ्गठनले  पीडित बालिकाको स्वास्थ्य अवस्था चेकजाँच गरी उनको प्रभावकारी उपचारका साथै जीउज्यानको आवश्यक सुरक्षा व्यवस्था गर्न माग समेत गरेका छन् । अनेम संघ (क्रान्तिकारी) झापाका अध्यक्ष तारा श्रेष्ठ, अनेम संघ (समाजवादी) झापाका अध्यक्ष हरिमाया मैनाली, राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन झापाका सचिव शिखा खड्का (गणेश) र अनेम संघ (क्रान्तिकारी )झापाका अध्यक्ष दिलकुमारी सीले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै खबरदारी गर्नुभएको हो ।