• ११ पुस २०८१, बिहिबार

आय विवरण पुस मसान्तसम्म पेस गर्न सकिने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २६ गते । वार्षिक एक करोड रुपियाँभन्दा बढीको कारोबार गर्ने करदाताले गत आर्थिक वर्षको आय विवरण पुस मसान्तसम्म पेस गर्न पाउने भएका छन् । आन्तरिक राजस्व विभागले त्यस्ता करदाताले म्याद थप माग गरेमा पुस मसान्तसम्म विवरण पेस गर्न सक्ने गरी म्याद थपिदिएको हो । विभागको आइतबारको निर्णय अनुसार करदाताले म्याद थपको अनुरोध गरेमा एकीकृत कर प्रणालीबाट स्वतः २०८१ पुस मसान्तसम्म म्याद थप हुने व्यवस्था गरिएको हो । 

यसअघि विभागले गत असोज ४ गते एक निर्णय गर्दै वार्षिक २५ करोड रुपियाँसम्म कारोबार गर्ने करदाता र कारोबार भएका निकायको सम्बन्धमा मङ्सिर मसान्तसम्म आय विवरण पेस गर्ने म्याद थपिदिने निर्णय गरेको थियो । त्यस्तै २५ करोड रुपियाँभन्दा बढीको कारोबार गर्ने करदाताको सम्बन्धमा पुस २० गतेसम्म आय विवरण पेस गर्न पाउने सुविधा विभागले दिएको हो । निजी क्षेत्रको व्यापारिक सङ्गठनको अनुरोधका आधारमा विभागले पछिल्लो पटक एक करोड रुपियाँभन्दा बढीको कारोबार गर्ने करदाताको गत आवको आय विवरण पुस मसान्तसम्म पेस गर्न सकिने सुविधा थपिएको जनाएको छ ।