• २३ माघ २०८१, बुधबार

अधिकारलाई सदुपयोग गरेर देशको निर्माणमा लाग्नुपर्छ: उपप्रधानमन्त्री सिंह

blog

नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको सालिकमा माल्यार्पण गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले । तस्बिरः गोरखापत्र

काठमाडौँ, मङ्सिर २५ गते । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई सदुपयोग गरेर देशको विकास निर्माणमा अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाल महिला सङ्घ काठमाडौँले मङ्गलादेवी सिंहको शतवार्षिक जन्मजयन्तीका अवसरमा नयाँ बानेश्वर वसन्तनगरमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो  । 

उपप्रधानमन्त्री सिंहले नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको सालिकमा माल्यार्पणपछि सञ्चारकर्मीसँग  कुराकानी गर्दै नेपालको महिला अधिकार, प्रजातन्त्र र समानताका लागि मङ्गलादेवी सिंहको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले राणाकालमै महिलालाई मताधिकार, महिलाका लागि शिक्षा, प‌ैतृक सम्पत्तिमाथिको हक अधिकार र नीतिगत तहमा महिला प्रतिनिधित्वका लागि मङ्गलादेवी सिंहले सङ्घर्ष गरेकै कारण उपलब्धि हासिल भएको बताउनुभयो । ‘अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मङ्गलादेवी सिंहकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि पनि हो, उहाँले भन्नुभयो । 

महिलाको हक, अधिकारलाई सुरक्षित बनाउन विसं २००४ साउन २४ गते मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला सङ्घको स्थापना भएको थियो ।