वालिङ समाचारदाता
वालिङ, मङ्सिर २५ गते । नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा सदस्यमा स्याङ्जाकी सुनिता थापालाई सिफारिस गर्ने निर्णय गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–९ की ३२ वर्षीय सुनिता बोल्न सक्नुहुन्न तर उहाँ निरन्तर समाजसेवामा सक्रिय रहँदै आउनुभएको छ । उहाँ जन्मजात बोल्न नसक्ने अवस्थामा हुनुहुन्छ । दोभासेको सहायताले उहाँका आफू जस्तै समस्यामा रहेका व्यक्तिका लागि काम गर्दै आउनुभएको छ ।
राष्ट्रिय बहिरा महासङ्घ नेपाल गण्डकी प्रदेशको अध्यक्ष रहेकी थापा अपाङ्ग महासङ्घ गण्डकी प्रदेशको कोषाध्यक्षसमेत हुनुहुन्छ । चापाकोट नगरपालिकामा गठन भएको अपाङ्ग सङ्घको अध्यक्षका रूपमा समाजसेवामा उहाँ निरन्तर सक्रिय रहँदै आउनुभएको छ । अविवाहित थापा नेपाली कांग्रेसकी प्रदेश महाधिवेशन प्रतिनिधिसमेत हुनुहुन्छ । सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले रिक्त पदमा क्रम सङ्ख्या अनुसार अगाडि रहनुभएकी थापालाई सिफारिस गरेको हो ।
कात्तिक २९ मा गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि सो पद रिक्त थियो । थापाको नाम आदिवासी जनजाति महिलातर्फ बन्दसूचीमा पाँचौँ नम्बरमा थियो । उहाँभन्दा अगाडिका चार जना प्रदेश सभा सदस्य बनिसकेका कांग्रेस गण्डकी प्रदेशका उपसभापति तथा प्रदेश सांसद कल्पना तिवारीले जानकारी दिनुभयो ।