• १ पुस २०८२, मङ्गलबार

लोप हुँदै रैथाने बाली

blog

रामेछापको मन्थली नगरपालिका–७ स्थित ओडारेमा लगाइएको मास ।

रामेछाप समाचारदाता

रामेछाप, मङ्सिर २२ गते । रामेछापका सबै जसो ठाउँमा रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् । १० वर्षअघिसम्म राम्रो उत्पादन हुने फापर, तितेफापर, जुनेलो, सिलाम, गहत, तिललगायतका बाली लोप भइसकेका छन् । दलहनका लागि राम्रो मानिने मस्याङ, मास, सेतो भटमास, गहते सिमी, जौलगायतका बाली पनि लोपोन्मुख अवस्थामा पुगिसकेका छन् ।

रामेछापको मन्थली नगरपालिका–७ स्थित ओडारे गाउँ जिल्लाकै राम्रो गहत उत्पादन हुने ठाउँमा परिचित थियो । एक दशकअगाडिसम्म यो गाउँमा उत्पादन हुने मुख्य बाली नै गहत थियो । 

यहाँका स्थानीयको गहतपछि प्रमुख बालीका रूपमा मकै र मस्याङ लगाउँथे । यहाँका स्थानीयले एक परिवारले एउटा सिजनमा १० मुरीभन्दा बढी गहत मात्रै भिœयाउँथे । यहाँ उत्पादन भएको गहत सदरमुकाम मन्थलीमा लाग्ने सोमबारे हाट र रामेछाप नगरपालिकामा लाग्ने बिहीबारे हाटमा बिक्री हुन्थ्यो ।

एक मुरी गहत बजारमा बिक्री गर्दा तीन मुरीभन्दा बढी धान आउने पैसाको जोहो हुन्थ्यो । गहत र मस्याङ बिक्री गरी जम्मा गरिएको पैसाले धानलगायतका खाद्यान्नका सामग्री किनेर यहाँको स्थानीयको परिवार चल्थ्यो । 

अहिले यहाँका स्थानीयले उत्पादन हुन छाडेपछि कुनै समयको मुख्य बाली गहत र मस्याङ लगाउन छाडिसकेका स्थानीय धनबहादुर माझी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिला यही बारीमा नफलेको वर्ष पनि १० मुरीभन्दा बढी गहत फल्थ्यो । अहिले १० माना पनि छैन । यहाँ उत्पादन हुने मुख्य बाली नै लगाउन छाडिएपछि अहिले गाउँका अधिकांश जमिन बाँझै छन् ।” 

युवा सबै कमाउनका लागि सहर तथा विदेश गएकाले अहिले काम गर्ने मान्छे नहुँदा पनि गाउँमा खेती हुन छाडेको उहाँले बताउनुभयो । पछिल्लो समय मौसम राम्रो नहुँदा गहत तथा मस्याङ फल्न छाडेपछि गाउँमा यसको खेती गर्न विस्तारै छाडिएको माझीले बताउनुभयो । 

खडेरीले खाएर उत्पादन नभएपछि बारीमा फापर, तितेफापर, जुनेलो, सिलाम, गहत, तिल र मस्याङ बाली लगाउन छाडिएको अर्का स्थानीय हर्कमाया माझीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला यो ठाउँमा फल्ने भनेकै मकै, मस्याङ, गहत थियो । अहिले यो सबै बालीलाई खडेरीले खाएर फल्न छाड्यो । काम गर्दाको ज्याला पनि उठ्न छोडेपछि गाउँमा खेती गर्न नै छाडिसके । अहिले धेरैका बारी बाँझै छन् ।”