• २० मंसिर २०८१, बिहिबार

विश्व माटो दिवस मनाउने तयारी

blog

माटो तथा मल परीक्षण प्रयोगशाला हेटौँडा । तस्विरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, मङ्सिर १९ गते । माटो तथा मल परीक्षण प्रयोगशाला हेटौँडाले “माटोको सुधार परीक्षण, रेखदेख र उपचार” भन्ने मूल नारासाथ एघारौं ‘विश्व माटो दिवस २०२४’ मनाउने भएको छ । 

दिवसको अवसरमा कृषि विकास कार्यालय नुवाकोट र विदुर नगरपालिकाको संयुक्त आयोजनामा कार्यक्रम गर्न लागिएको हो । नगरपालिकाको विभिन्न वडाबाट संकलित एक हजार ५६ थान माटोको नमूना घुम्ती माटो परीक्षण प्रयोगशालामार्फत परीक्षण गरी परीक्षणको नतिजाअनुसार कृषकलाई २० मेट्रिक टन कृषि चुन निःशुल्क वितरण गरी माटो दिवस मनाउन लागिएको माटो तथा मल परीक्षण प्रयोगशाला बागमती प्रदेश हेटौँडाका कार्यालय प्रमुख डा. जनार्दन खड्काले जानकारी दिनुभयो । 

माटो व्यवस्थापनमा बढ्दो चुनौतीलाई सम्बोधन, माटो र पानीको संरक्षण, वातावरण संरक्षण र मानव स्वास्थ्यको रक्षा, माटोको स्वास्थ्यमा सक्रिय सुधारका लागि प्रतिबद्ध गर्न प्रोत्साहित गर्ने जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो ।

नेपालको सन्दर्भमा माटोको अम्लीय प्रमुख समस्याको रुपमा रहेको जानकारी दिँदै बागमती प्रदेशमा करिब ८० प्रतिशत माटोमा समस्या रहेको उहाँको भनाइ छ । कृषि चुनको प्रयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले ५० प्रतिशत माटोमा भएको प्राङ्गारिक पदार्थको कमी दोस्रो ठुलो समस्याको रुपमा रहेकाले गुणस्तरयुक्त प्राङ्गारिक पदार्थको उत्पादन गर्न भकारो सुधार, गहतको संरक्षण र सदुपयोग र प्रयोगको हुनुपर्नेमा जोड दिनुभयो । 

असन्तुलित रसायनिक मलखादको प्रयोग, परिवर्तित बालीचक्रको अनुशरण र विभिन्न रसायनयुक्त प्रयोगले माटोमा भएको सूक्ष्म जीवाणुको संख्या न्यून हुँदै माटो मृत अवस्थामा पुग्ने बताउँदै माटोमा सूक्ष्म जीवाणु मलको प्रयोग तेस्रो महत्वपूर्ण विषयको रुपमा रहेको उहाँको भनाइ छ । नेपालमा सन् २०१४ डिसेम्बर ५ देखि औपचारिक रूपमा यो दिवस मनाउन सुरु गरिएको हो ।