• १ माघ २०८१, मङ्गलबार

विपन्न विद्यार्थीलाई सहयोग, उपभोक्तालाई सचेतना

blog

वन समहुले गरेको सहयोग हस्तान्तरण कार्यक्रम । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, मङ्सिर १९ गते । रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा रहेको एक सामुदायिक वन उपभोक्ता समुहले समुहका दुई उपभोक्तालाई आर्थिक सहयोग गरेको छ भने ४० विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराएको छ । 

वडा नम्वर ५ मा रहेको आरुखोला सामुदायिक वन उपभोक्ता समुहले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । समुहका अध्यक्ष लोकेन्द्र परियारका अनुसार वन समुहका उपभोक्ता पार्वती विकलाई पाँच हजार रुपियाँ र पार्वती जैसीलाई दुई हजार पाँच सय रुपियाँ हस्तान्तरण गरिएको हो । विक मृगौला रोगबाट पीडित हुनुहुन्छ भने जैसी गरिब तथा विपन्न अवस्थाको हुनुहुन्छ । समुहका उपभोक्ताहरुलाई अप्ठ्यारो परेको अवस्थामा सहयोग गरेको अध्यक्ष परियारले जानकारी दिनुभयो । 

त्यसैगरी समुहले सोहि वडामा रहेको आधारभूत विद्यालय लहरेसिमलका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराएको छ । विद्यालयमा अध्ययनरत ४० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय झोला सहयोग गरिएको समुहले जनाएको छ । वन उपभोक्ता समुहले आयोजना गरेको सामुदायिक वन सम्बन्धि सचेतना कार्यक्रमको उद्घाटनको समारोहमा उक्त सहयोग उपलब्ध गराईएको हो । 

वन समुहको आयोजनामा उपभोक्ताहरुलाई सामुदायिक वन व्यवस्थापन सम्बन्धी बृहत सचेतना कार्यक्रम समेत सम्पन्न गरिएको छ । समुह अन्तर्गत रहेका ३ वटा टोलका ८५ जना उपभोक्ताहरुलाई छुट्टाछुट्टै कार्यक्रम राखेर उक्त कार्यक्रम सम्पन्न गरिएको हो । 

यी कार्यक्रमहरुमा चौरजहारी नगरपालिका प्रमुख पुष्प वादीको प्रमुख आतिथ्यता र डिभिजन वन कार्यालयका प्रमुख शेर बहादुर परियारको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा डिभिजन वन कार्यालय, चौफा सब डिभिजन कार्यालयका कर्मचारीहरु, विद्यालयका शिक्षक, स्थानीय अगुवाहरु लगायतको उपस्थिति रहेको थियो ।