राणाकालमा कमारा प्रथा थियो । यसलाई दास प्रथा पनि भनिन्छ । आर्थिक रूपमा विपन्न मानिसलाई किन्ने र काममा लगाउने चलन हुन्थ्यो । मालिकले गरिबलाई दासका रूपमा किन्थे र घरका काममा लगाउँथे । एउटा मालिकले अर्काको कमारालाई किन्ने चलन पनि हुन्थ्यो । मालिकका घरमा जीवनभर सित्तैमा काम गरिदिनुपर्ने हुन्थ्यो । यो प्रथा सयौँ वर्षदेखि थियो । साना बच्चालाई पनि कमारा कमारी बनाएर अभिभावकले मालिकलाई जिम्मा लगाइदिन्थे ।
कमाराका लागि मानिस बेचबिखन गर्ने चलन हुन्थ्यो । निश्चित रकम हुँदैन थियो । मालिकले चाहे अनुसार रकम दिन्थे । त्यो रकम स्वीकारेर मालिकको घरका काम गरिदिनुपथ्र्याे । दुःख, घामपानी भन्न पाइँदैन थियो । जस्तो सुकै अवस्थामा पनि कडा परिश्रम गर्नुपथ्र्याे । कमाराबाट मुक्ति पाउन कठिन हुन्थ्यो किनकि कमाइ नहुने भएकाले उसले मालिकले पहिले दिएको रकम फिर्ता गर्न सम्भव हुँदैन थियो । मालिकको दरबारमा खाना र बस्नको सुविधा भए पनि तलब पाउने चलन हुन्थेन । चाडपर्वमा मालिक खुसी भएर केही रकम दिए मात्र हो । अन्यथा कहीँ कतैबाट पनि आम्दानी हुन्थेन । त्यस्ता मानिसहरू पशुको जस्तै जीवन बिताउन बाध्य थिए ।
पहिलो राणा प्रधानमन्त्री जङ्गबहादुरले कमारा (दास) प्रथा हटाउने प्रयास गर्नुभएको थियो । उहाँले दासदासीको बेचबिखनमा मनपरी रोक्न मूल्य तोकिदिनुभएको थियो । उहाँले मुलुकी ऐन जारी गर्नुभएको थियो । देश सञ्चालन गर्न विभिन्न कानुन आवश्यक पर्छ । के गर्न पाइन्छ, के गर्न पाइँदैन भन्ने कुरा कानुनमा तोकिएको हुन्छ । मुलुकी ऐन विभिन्न कानुनको सङ्ग्रह हो । जङ्गबहादुरले मुलुकी ऐनमा कमारा प्रथा उन्मूलनका लागि व्यवस्था गरिदिनुभयो तर उहाँ जीवित रहँदासम्म यो प्रथा उन्मूलन हुन सकेन ।
चौथो राणा प्रधानमन्त्री देवशमशेरले प्रयास गर्नुभयो । उहाँले ‘ज्यू मासिया जातको’ नयाँ ऐन जारी गर्नुभयो । विसं १९५८ मिति आषाढ बदी १० मा त्यो ऐन जारी गरिएको थियो । त्यो ऐनमा मानिसलाई पशुतुल्य खरिद बिक्री गरी कमारा कमारी राख्ने काम बेठिक भएकाले तिनलाई मुक्त गरिदिने भनी उल्लेख गरिएको थियो । अबदेखि कमारा कमारी किन्नु वा बेच्नु वा बन्धक राख्नुहुँदैन, कसैले त्यसरी किनबेच गरेको थाहा भएमा दण्ड गरिने छ भनेर स्पष्ट लेखिएको थियो ।
देवशमशेरको राज्याभिषेकका दिन ७६७ जनालाई दासत्वबाट मुक्त गरिएको थियो । ती सबै दास अधिकांश राणा परिवारका घरमा थिए । ५५० जना महिला थिए । टुँडिखेलमा कार्यक्रमको आयोजना गरी उनीहरूलाई दासबाट मुक्त गरिएको घोषणा गरिएको थियो । त्यो बेला देवशमशेरकी रानीले ती महिलालाई एक/एक रुपियाँ दिनुभएको थियो । त्यो बेला एक रुपियाँ भनेको निकै ठुलो रकम हुन्थ्यो । त्यति रुपियाँ पाउँदा उनीहरू खुसी भई रानीको जयजयकार गरे ।
देवशमशेरलाई धनकुटा धपाएर चन्द्रशमशेर प्रधानमन्त्री हुनुभयो । उहाँले कमारा रहेकाहरूले रकम बुझाएमा कमारा कमारीबाट मुक्त हुन पाउने कानुन जारी गर्नुभयो । त्यो कानुन जारी गरे पनि उनीहरूसँग मुक्त हुन सक्ने गरी पर्याप्त रकम हुन्थेन । त्यसैले मालिकलाई बुझाउन सक्ने रकम नहुँदा कमारो प्रथा हट्न सकेन ।
तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले १९८१ मङ्सिर १४ गते काठमाडौँको टुँडिखेलमा भाषण गर्दै १९८२ वैशाख १ गतेबाट कसैको घरमा पनि कमारा कमारी राख्न नपाउने घोषणा गरिदिनुभयो । त्यसपछि ५१ हजार ७८२ जना कमारा कमारी दासत्वबाट मुक्त भए । सरकारले मालिकलाई १५ देखि ७५ रुपियाँ दिएर दासत्वबाट मुक्त गरिदिएको थियो । त्यसरी रकम दिँदा सरकारको ३६ लाख ७० हजार रुपियाँ खर्च भएको थियो । त्यसरी दासत्वबाट मुक्त गरिएकालाई भीक्षाखोरी भन्ने ठाउँमा लगेर बस्ती बसाइयो । दासत्व प्रथाबाट मुक्त गर्नुलाई अमलेख भनिन्छ । अमलेख गरिएकालाई राखिएको ठाउँ भएकाले भीक्षाखोरीको नाम अचेल अमलेखगन्ज भएको छ । अमलेखगन्ज बारा जिल्लामा पर्छ ।
– प्रकृति