गोरखापत्र अनलाइन
काठमाडौं, माघ ५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफू मन्त्री भएपछि चार महिनामा ४० भन्दा बढी निर्णय कार्यान्वयन गराएको बताउनुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसमक्ष सोमबार राजीनामा दिएपछि सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । सरकारले लिएको लक्ष्यअनुसार मुलुक निर्वाचनमा होमिएको बताउँदै उहाँले सुशासनमा सरकारले उल्लेख्यरुपमा काम गरेको बताउनुभयो ।
सरकारको प्रवक्ताको रुपमा भूमिका निर्वाह गर्न पाउँदा खुशी लागेको बताउँदै उहाँले भन्नुभयो, “मैले भ्रष्टाचार गरेको छैन, कलङ्कको छिटा आउने कुनै काम गरेको छैन, छाती फुकाएर गर्वकासाथ भन्न सक्छु, जस्तो म सिंहदरवार छिरेको थिएँ, त्यस्तै फर्कदैछु ।”
यो सरकारले तिथी र विधी बसाएको दावी गर्दै उहाँले यो आधारशीलामा आगामी सरकारले काम गरेमा उपलब्धि हासिल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । मन्त्री र कर्मचारी मिलेर देश बन्ने भन्दै उहाँले भ्रष्टाचारको अन्त्यविना देशको विकास सम्भव नरहेको बताउनुभयो ।
मन्त्री खरेलले आफू आगामी निर्वाचनमा ललितपुर क्षेत्र २ बाट उम्मेदवारी दिने बताउनुभएको छ । तर उहाँले आफू कुन दलबाट उम्मेदवार बन्ने बारेमा जानकारी गराउनु भएन । मंगलबार विहान त्यसबारे जानकारी गराउने उहाँले बताउनुभयो ।
मन्त्री खरेललाई सोमबार नै मन्त्रालयमा विदाई गरिएको छ । मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतको नेतृत्वमा मन्त्रालयका कर्मचारीहरुले मन्त्री खरेलको विदाई गर्नुभएको हो । विदाई कार्यक्रममा गोरखापत्र संस्थानका अध्यक्ष गोविन्दप्रसाद (अखण्ड) भण्डारी, राससका महाप्रबन्धक सन्दीप राई, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईसहितको सहभागिता थियो ।