• २१ पुस २०८१, आइतबार

चार करोडको सुन्तला निर्यात

blog

गुल्मीका कृषकको सुन्तला खेती र जिल्ला बाहिर सुन्तला निर्यात गर्न लाग्दै । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास, मङ्सिर १९ गते ।
धुर्कोट गाउँपालिका वडा नम्बर २ पिपलधारा सुन्तला खेतीको लागि प्रख्यात मानिन्छ । यहाँका ६० प्रतिशत नागरिक सुन्तला खेतीमा आवद्ध छन् । पिपलधारामा कुल दुई हजार रोपनी जग्गालाई सुन्तला पकेट क्षेत्र निर्धारण गरिएको छ ।

उक्त जग्गालाई पाँच हजार रोपनीसम्म विस्तार गर्ने योजना वडाको छ । सुन्तला लिनको लागि व्यापारीहरु बगैँचामै आउने गर्दछन् । पिपलधाराको सुन्तला स्थानीय बजार हुँदै तम्घास, अर्घाखाँची, पाल्पा, बुटबललगायतका स्थानमा पुग्ने गर्दछन् । यो वर्ष पनि सुन्तला निर्यात भइरहेको वडाध्यक्ष बाबुराम खड्काले बताउनुभयो । पिपलधाराको पहिचान नै सुन्तला भएको बताउँदै बजारको कुनै समस्या नभएको उहाँले बताउनुभयो ।

गत वर्षमात्रै पिपलधाराबाट चार करोडको सुन्तला निर्यात भएकोमा यो वर्ष चार करोड ५० लाखभन्दा बढीको सुन्तला निर्यात हुने लक्ष्य रहेको वडाध्यक्ष बाबुराम खड्काले बताउनुभयो । उहाँका अनुसार स्थानीय बजारका साथै नारायणघाट, कपिलबस्तुको चन्द्रौटाबाट ब्यापारीहरु आएर सुन्तला खरिद गरेको बताउनुभयो । सुन्तला खेतीबाटै पिपलधारालाई आत्म निर्भर बनाउने गरी योजना बनाएको उहाँको भनाइ छ ।

स्थानीय विष्णुप्रसाद खनालले पनि लामो समयदेखि सुन्तला खेती गर्दै आउनुभएको छ ।  उहाँको अहिले २९ रोपनी बारीमा सुन्तला बगैँचा छ । कुल एक हजार चार सय सुन्तलाका बिरुवामध्ये आठ सयले उत्पादन दिइरहेका छन् । गत वर्ष उहाँले २६ टन सुन्तलाबाट १३ लाख रुपियाँ आम्दानी गर्नुभएको थियो । यो वर्ष सुन्तलाको उत्पादन राम्रो भएकाले गत वर्षभन्दा बढी आम्दानी हुने उहाँले बताउनुभयो । शिक्षण पेशासमेत गर्दै आउनुभएका उहाँले सुन्तलाको बिरुवाका लागि आफ्नै बारीमा नर्सरीको स्थापना गर्नुभएको छ । दिउँसोमा विद्यालय भए पनि बिदा र बिहान–बेलुकाको समय सुन्तला खेतीमा दिने गरेको उहाँले बताउनुभयो ।

पिपलधाराका वडाध्यक्ष बाबुराम खड्का पनि सुन्तला कृषक हुनुहुन्छ् । उहाँले यो वर्ष मात्रै एक हजार सुन्तलाका बिरुवा रोपण गर्नुभएको छ । उहाँको अहिले ३५० बोटले उत्पादन दिइरहेका छन् । ४० रोपनी क्षेत्रफलमा सुन्तला खेती गर्नुभएका उहाँले सुन्तला रेखदेखको लागि एक जनालाई रोजगारीसमेत दिनुभएको छ । राजनीति र कृषिसँगै जनसेवा गर्ने चाहाना रहेको उहाँले बताउनुभयो ।

स्थानीय केशव खनालको बगैँचामा पनि अहिले एक हजार सुन्तलाका बोट छन् । विगतदेखि नै सुन्तला खेती गर्दै आउनुएका उहाँले गत वर्र्ष मात्रै ९० क्वीन्टल सुन्तला बिक्रीबाट छ लाख आम्दानी गर्नुभएको थियो । अहिले पनि उहाँको बारीमा दुई सय बिरुवाले फल दिइरहेका छन् । बाँकी आठ सय बिरुवा कलमे र नयाँ लगाएकाले केही वर्षमा फल दिने उहाँले बताउनुभयो ।

गुल्मीबाट १८ करोडभन्दा बढीको सुन्तला निर्यात हुने

यस वर्ष गुल्मीबाट १८ करोड ३७ लाख रुपियाँको सुन्तला जिल्ला बाहिर निर्यात हुने अनुमान गरिएको कृषि ज्ञानकेन्द्र गुल्मीका बालीविकास अधिकृत प्रकाश मरासिनीले जानकारी दिनुभयो । कुल एक हजार ७२ हेक्टर क्षेत्रफलमा जिल्लामा सुन्तला खेती गरिएको उहाँको भनाइ छ । जसमध्ये ६० प्रतिशत अर्थात ६४३ हेक्टर क्षेत्रफलमा लगाइएका बिरुवाले उत्पादन दिएको हो । यस वर्ष सात हजार ७१८ मेट्रिक टन सुन्तला उत्पादनबाट १८ करोड ३७ लाख रुपियाँको सुन्तला जिल्ला बाहिर निर्यात हुने लक्ष्य रहेको उहाँको भनाइ छ ।

गत वर्षभन्दा करिव तीन प्रतिशत सुन्तला उत्पादनमा वृद्धि भएको मरासिनीले बताउनुभयो । सरदर प्रतिकिलो ५० रुपियाँका दरले सुन्तला बिक्री भएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।