जनार्जन खत्री
सर्लाही, मङ्सिर १९ गते । सर्लाहीको लालबन्दी नगरपालिका–१३, मा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् ।लालबन्दी नगरपालिका–१३, का ५० वर्षीय मिठ्ठु भन्ने मानबहादुर बम्जनलाई लालबन्दी बजारमा चामल किनेर घर फर्कदै गर्दा मङ्गलबार दिउँसो ४ बजेतिर सेतिभिर गाउँ र कर्मडण्डीको बिच भागमा पर्ने चुरेपाखाको जङ्गलमा भालुले आक्रमण गरेको हो ।
तीनवटा भालुले शरीरको पछाडिपट्टीको भागमा आक्रमण गर्दा घाइते बम्जन लालबन्दीस्थित एक क्लिनिकमा उपचारपछि मङ्गलबार राति घर फर्किनुुभएको लालबन्दी नगरपालिका १३ का वडाध्यक्ष शिवकृष्ण वैद्यले जानकारी दिनुुभयो ।
भालुले चिर्थोदा उहाँको शरीरमा २० भन्दा बढी टाका लगाइएको छ । भालुले आक्रमण गरेपछि बम्जनले रुखमाथि चढेर ज्यान जोगाउनुुभएको थियो ।
सोही बाटो भएर अर्का व्यक्ति आएपछि मात्रै भालु भागेपछि बम्जन रुखबाट झरेर उपचारका लागि लालबन्दी बजार आउनुुभएको बुुझिएको छ । बम्जनलाई भालुुले आक्रमण गरेको घटनापछि सेतिभिर र कर्मडण्डी क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।
वडाध्यक्ष वैद्यका अनुसार सो क्षेत्रमा वर्षेनिजसो यसप्रकारको घटना हुने गरेको छ । गत वर्ष पनि भालुको आक्रमणबाट एक स्थानीय गम्भीर घाइते भइ उपचारका लागि काठमाडौं लगिएको थियो ।
लालबन्दी १३ को वडा कार्यालयले भालुको आतङ्क देखिएको चुरेपाखाको जङ्गल भएर आउजाउ गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।