• २४ पुस २०८१, बुधबार

धवन र तनवीरको उद्देश्य एउटै

blog

काठमाडौँ, मङ्सिर १८ गते । नेपाल प्रिमियर लिग (एनपिएल) स्तरीय विदेशी खेलाडीको उपस्थितिले चर्चामा छ । सोमबार भएका खेलमा ‘ह्वाइट बल क्रिकेट’ मा ‘लिजेन्ड’ मानिएका भारतीय ब्याट्सम्यान शिखर धवन, पाकिस्तानका तेज बलर सोहिल तनवीर र न्युजिल्यान्डका अलराउन्ड जिमी निसम मैदानमा उत्रिनुभयो । 

चालु लिगमा सबभन्दा ठुला नाम धवनले नेपालमा आफ्नो पहिलो खेलमा छाप भने छोड्न सक्नुभएन । जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सको प्रारम्भिक ब्याट्सम्यानको भूमिकामा मैदानमा उत्रनुभएका धवन तीन चौकासहित १४ बलमा १४ रन बनाएर आउट हुनुभयो । पाकिस्तानका तनवीरले भने चितवन राइनोजलाई काठमाडौँ गुर्खाजविरुद्ध जित दिलाउन म्यान अफ दी म्याचको प्रदर्शन गर्नुभयो । उहाँले चार ओभरमा मात्र २१ रन खर्चेर पाँच विकेट लिनुभयो । तनवीर एनपिएलमा पाँच विकेट लिने पहिलो बलर बन्नुभयो ।

 पहिलो खेलमा फरक छाप छोडे पनि यी दुवै हस्ती खेलाडीको एनपिएलमा खेल्नुको उद्देश्य भने समान छ । हालै मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिनुभएका धवनले एक दशकभन्दा बढी  समय अन्तर्राष्ट्रिय क्रिकेट खेलेको अनुभव नेपाली क्रिकेटमा बाँड्ने उद्देश्यसहित नेपाल आएको बताउनुभएको छ । उहाँ भन्नुहुन्छ, “१७ वर्ष आइपिएल खेलेँ । भारतका लागि दुई सयभन्दा बढी ह्वाइट बल क्रिकेट खेलेको छु । सोही अनुभव नेपालका युवा क्रिकेटरसँग साट्ने छु ।” उहाँ एनपिएलले नेपाली क्रिकेटरलाई ठुलो मनोबल दिने विश्वासमा पनि हुनुहुन्छ । प्रायः फ्रेन्चाइ क्रिकेटमा घरेलु क्रिकेटरले अन्तर्राष्ट्रिय क्रिकेटरभन्दा राम्रो प्रदर्शन गर्दछ । नाम चलेका अन्तर्राष्ट्रिय क्रिकेटरहरूभन्दा राम्रो खेलेपछि उनीहरूको आत्मविश्वास बढ्छ । जुन क्रिकेटमा महत्वपूर्ण छ,” धवन भन्नुहुन्छ । ‘गब्बर’ को उपनामले चर्चित धवन कम्तीमा चार खेल खेल्न नेपाल आउनुभएको हो । 

यसै गरी पाकिस्तानका पूर्वप्रारम्भिक तेज बलर तनवीरले काठमाडौँ गुर्खाजविरुद्धको खेलमा म्यान अफ दी म्याच बनेपछि नेपाल आउनुका उद्देश्य आफ्नो अनुभव नेपाली खेलाडीमा बाँड्नु हो भन्नुभयो । “टी–२० मा बलिङ सधैँ कठिन हुन्छ तर २० वर्षदेखि खेलिरहेको छु । चार सयभन्दा बढी खेल खेलिसकेँ । आजको खेलमा मेरो सोही अनुभवले काम ग¥यो । स्लो पिचमा सुरुमा तेज बलिङ गरेरै ब्याट्सम्यानलाई आउट गर्न खोजेको थिएँ तर सफल भइनँ र मैले प्लान बी प्रयोग गरेँ । क्रिकेटमा वातावरण र पिचसँग चाँडै अभ्यस्त हुन सक्नु पर्छ । मसँग अनुभव थियो तर नेपालमा पहिलो पटक भए पनि मलाई यहाँको पिच र वातावरणसँग अभ्यस्त हुन कठिन भएन । यस्तै अनुभव नेपालका युवा क्रिकेटरहरूसँग साट्न चाहन्छु । मैले नेपाल क्रिकेटरहरूलाई क्रिकेटबारे कुरा गर्न आफ्नो ढोका सधैँ खुला रहेको जानकारी गराएको छु,” तनवीर भन्नुहुन्छ । उहाँले आइपिएलले भारतीय क्रिकेट, पिएसएलले पाकिस्तानको क्रिकेटको प्रगतिमा आश्चर्यजनक योगदान पु¥याएको भन्नुहुँदै नेपाली क्रिकेट पनि एनपिएलसँगै ‘ग्रो’ हुने विश्वास व्यक्त गर्नुभयो । 

बायाँ हाते तेज बलर तनवीर आफ्नो अनौठो बलिङ एक्सन शैलीले पनि विश्वमा परिचित हुनुहुन्छ । ‘रङ्ग फुटेड’ बलर तनवीरले आइपिएलको पहिलो संस्करणमा राजस्थान रोयल्सलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । आइपिएलको पहिलो संस्करणमा कुल २२ विकेट लिएर तनवीरले पर्पल क्याप जित्नुभएको थियो ।