बेरुत, लेबनान, मङ्सिर १७ गते । सिरियामा अमेरिका समर्थित कुर्द नेतृत्वको सेनाले अलेप्पो वरपरका कुर्दहरुलाई आफ्नो नियन्त्रणमा रहेको सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न खोजिरहेको बताएको छ ।
सिरियामा सन् २०११ मा राष्ट्रपति बशर अल असदले गरेको प्रदर्शनमाथि दमन भएपछि सिरियामा युद्ध जारी छ । समय बित्दै जाँदा, यो द्वन्द्वले विदेशी शक्ति र जिहादीहरूलाई आकर्षित गरेको छ । सिरियामा युद्धका कारण पाँच लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने आधा जनसङ्ख्या विस्थापित भएको छ ।
गत हप्ता हयात तहरीर अल–शाम समूहका जिहादी र यसका सहयोगीहरुले टर्कीको सीमा नजिकै उत्तरपश्चिमी सिरियाबाट व्यापक आक्रमण गरी सिरियाको दोस्रो ठूलो सहर अलेप्पोलगायत वरपरका क्षेत्रलाई सरकारी नियन्त्रणबाट फिर्ता लिएका छन् । सिरियाका कुर्दहरुले सन् २०११ देखि विस्थापनका थुप्रै श्रृङ्खलाहरु भोगेका छन् र पछिल्लो आक्रमणमा फेरि अग्रपङ्क्तिमा उभिएर लड्दै आएका छन् ।
सिरियाको अलेप्पो प्रान्तको रणनीतिक शहर ताल रिफात र आसपासका गाउँहरू कब्जामा लिएका टर्की समर्थक समूहले करिब दुई लाख सिरियाली कुर्दलाई घेराहालेको सिरियायुद्ध अनुगमनकर्ताले आइतबार राति बताएका छन् । सिरियन डेमोक्र्याटिक फोर्सेज (एसडिएफ)का प्रमुख मजलुम अब्दीले अमेरिकाको सहयोग प्राप्त आफ्नो सङ्गठनले ताल रिफात र अलेप्पोका अन्य भागमा बसोबास गरिरहेका कुर्दहरुलाई कुर्दिसको नियन्त्रणमा रहेका क्षेत्रमा फर्काउने प्रयास गरिरहेको बताएका थिए ।
“हामी सिरियाको उत्तरपूर्वमा हाम्रो सुरक्षित क्षेत्रहरुमा हाम्रा जनताको सुरक्षा सुनिश्चित गर्न र उनीहरूको सुरक्षित स्थानान्तरणलाई सहजीकरण गर्न सबै सम्बन्धित पक्षहरुसँग सक्रियरुपमा समन्वय गरिरहेका छौँ,” अब्दीले एक विज्ञप्तिमा भन्नुभयो । एसडीएफका कमान्डर इन चिफ अब्दीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “उत्तरपश्चिम सिरियामा स्थिति तीव्र र अचानक विकसित भएको छ र हाम्रा सेनाले विभिन्न मोर्चाबाट तीव्र आक्रमणको सामना गरिरहेका छन् ।”
“सिरियाली सेना र यसका सहयोगीहरूको पतन र फिर्ता पछि हामीले हाम्रा जनतालाई सम्भावित नरसंहारबाट जोगाउने उद्देश्यका साथ हाम्रो पूर्वी क्षेत्र अलेप्पो र ताल रिफात क्षेत्रबिच मानवीय करिडोर स्थापना गर्न हस्तक्षेप गरेका छौँ”, उहाँले भन्नुभयो, “यद्यपि, टर्कीको कब्जाद्वारा समर्थित सशस्त्र समूहहरूको आक्रमणले यो करिडोरलाई अवरुद्ध पारेको छ ।”
अब्दीले आक्रमणका बावजुद पनि ‘हाम्रो सेनाले अलेप्पोको कुर्दिश इलाकामा बसोबास गर्ने हाम्रा जनताको सुरक्षाका लागि निरन्तर प्रतिरोध जारी राखेको’ बताउनुभएको छ । यसैबिच, सिरियाको दोस्रो ठूलो शहर अलेप्पो राष्ट्रपति बसर अल असदको सरकारको नियन्त्रणमा नरहेको बेलायतस्थित सिरियाली युद्ध अनुगमनकारी संस्थाले आइतबार जनाएको छ ।
“सन् २०११ मा द्वन्द्व सुरु भएयता पहिलो पटक अलेप्पो सहर सिरियाली सरकारी सेनाको नियन्त्रणबाहिर पुगेको हो,” संस्थाका प्रमुख रामी अब्देल रहमानले एएफपीसँग बताउनुभयो । सिरियाली सेनाले विद्रोहीहरु अलेप्पोको ‘ठूलो भागमा’ प्रवेश गरेको स्वीकार गर्दै ‘सरकार पक्षधर सशस्त्र बलका दर्जनौँ व्यक्ति मारिएको र अन्य घाइते भएको’बताएको छ ।
सिरियाली सेनाले ‘सशस्त्र आतङ्कवादी सङ्गठनहरु’ले ‘अलेप्पो र इदलिब मोर्चामा विभिन्न कोणबाट व्यापक आक्रमण’ गरेको र ‘१०० किलोमिटर (६० माइल) भन्दा बढी दूरीमा भीषण युद्ध भएको’ पुष्टि गरेको छ । रासस/एएफपी