काठमाडौँ, मङ्सिर १७ गते । राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘एनएसओ डाटा पोर्टल’ सञ्चालनमा ल्याएको छ । कार्यालयले उत्पादन गर्ने तथ्याङ्कहरूलाई थप उपयोगी र परिष्कृत गर्ने उद्देश्यले कार्यालयले सोमबार एक समारोहका बिच पोर्टल सार्वजनिक गरेको हो ।
कार्यक्रमकाबिच तथ्याङ्क कार्यालयका सूचना अधिकारी मनोहर घिमिरेले ‘एनएसओ डाटा पोर्टल’को महत्त्व र उपयोगिताबारे जानकारी दिनुभयो । उहाँले कार्यालयले उत्पादन गरेका तथ्याङ्कहरूलाई थप उपयोगमैत्री बनाउन र प्रयोगकर्ताको सहज पहुँचका लागि पोर्टल सञ्चालनमा ल्याइएको बताउनुभयो ।
उहाँले राष्ट्रिय तथ्याङ्क कार्यालय नेपालको तथ्याङ्कको केन्द्रीय निकाय भएको उल्लेख गर्दै कार्यालयले सार्वजनिक गर्ने तथ्याङ्क सत्य र वस्तुनिष्ठ हुनुपर्ने जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘राष्ट्रिय तथ्याङ्क कार्यालय नेपालको तथ्याङ्कको केन्द्रीय निकाय हो । यस कार्यालयले लामो समयदेखि विभिन्न किसिमका तथ्याङ्कहरू उत्पादन गर्दै आएको छ । आर्थिक सामाजिक वातावरणीय लगायतका तथ्याङ्कहरू सार्वजनिक गर्दै आएको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘तथ्याङ्कको महत्त्व तब मात्र हुन्छ जब यसको प्रयोग गरिन्छ । प्रयोग भएन भने त्यो तथ्याङ्क उत्पादनका लागि मात्र उत्पादन गरिन्छ । त्यसैले हामीले तथ्याङ्कको प्रयोगलाई बढाउनुपर्छ भन्ने मुख्य उद्देश्यले हामीले उत्पादन गरेका तथ्याङ्कहरू प्रयोगकर्ताहरू समक्ष सहज ढङ्गले पुगोस् भनेर यो पोर्टलको विकास गरिएको हो ।’’
पोर्टलमा कार्यालयले उत्पादन गर्ने आर्थिक तथा सामाजिक क्षेत्रका तथ्याङ्कहरू सार्वजनिक गरिने उहाँले बताउनुभयो ।