• १७ मंसिर २०८१, सोमबार

किसान सामूहिक किवी खेतीमा

blog

पुतलीबजार –९ कोल्मा, कल्छेङदीका युवाहरुले गरेका सामुहिक किवी खेती । तस्विरः अर्जुन काफ्ले

अर्जुन काफ्ले 

स्याङ्जा, मंङसिर १७ गते । कम लगानीमा लामो समयसम्म राम्रो आम्दानी दिने किवी खेतीमा पुतली बजार –९ कोल्मा, कल्छेङदीका युवाहरू आकर्षित भएका छन् । आम्दानीको राम्रो स्रोत भएकाले यहाँका १७ परिवारका युवाहरूले ३५ रोपनी बाँझो जग्गा १५ वर्षका लागि पाँच सयदेखि एक हजार रुपियाँ वार्षिक भाडामा लिएर सामूहिक व्यावसायिक रूपमा खेती गरेका हुन् । 

स्थानीय कृषक डिलकुमार भुजेलले चार वर्ष पहिला सङ्घीय सरकारको १९ लाख अनुदान र स्थानीयको आठ लाखगरी २६ लाख रुपियाँको लागतमा यहाँ किवीको सुरुवात गरेको बताउनुभयो । 

४५० बिरुवा रोपेको बताउँदै भुजेलले पहिलो पटक २२ वटामा किवी फलेको र सबैले चाख्न पाएको बताउनुभयो । पछिल्लो समय बढ्दो बसाइसराइका कारण खेतीयोग्य जमिन बाँझै हुनु थालेपछि आफूहरू सामूहिक रूपमा किवी खेती गर्न सुरु गरेको भुजेलले बताउनुभयो । 

स्वास्थ्यका दृष्टिले किवीमा भिटामिन सी, फाइवर, पोटासियमजस्ता खनिज तत्त्वहरू प्रचुर मात्रामा दिने गर्दछ । अमिलो र गुलियो गरी दुई स्वाद पाइने किवी एक पटक लगाइसकेपछि करिब ४० देखि ४५ वर्षसम्म निरन्तर उत्पादन दिने भएकाले कृषकको रोजाइ बढ्दै गएको हो । 

पछिल्लो समय युवाहरूमा वैदेशिक रोजगारीको लहर बढेपछी गाउँमै स्वरोजगार बनाउन वडाले समेत कृषकलाई प्रोत्साहन गर्दैआएको छ । 

फेदीखोला गाउँपालिका–१ कटुसस्वाराका युवा नेता शिव पराजुलीले व्यावसायिक किवी खेतीबाट अहिले राम्रो आम्दानी गर्नुभएको छ । सात वर्ष पहिले असारमा धान रोप्न ठिक्क पारेको चार रोपनी खेतमा पराजुलीले किवीका बिरुवा लगाउनु भएको थियो । 

५० किवीका बिरुवा लगाउनु भएका पराजुलीले वार्षिक साढे दुई लाख रुपियाँ कमाएको बताउनुभयो । उत्पादित किवी विक्री वितरणका लागि बजारको कुनै समस्या नरहेको बताउँदै पराजुलीले गाउँबाट नजिक भएकाले पोखरामा र स्थानीय बजारमा पनि बेच्ने गरेको बताउनुभयो । 

सुरुमा विज्ञान विषयको शिक्षण पेसा अँगाल्नु भएका पराजुली शिक्षण पेसा छोडेर राजनीतिसँगै व्यावसायिक कृषि पेसामा आबद्ध हुनु भएको हो । किवी खेती गर्नु भएका पराजुली नेकपा (एमाले) गण्डकी प्रदेश सदस्य रहनु भएको छ । 

विज्ञानको विद्यार्थी भएकाले उच्चतम प्रविधिको उपयोग गरी गरेर खान पर्छ भन्ने सोच सानैदेखि रहेको बताउँदै पराजुलीले आधुनिक तरिकाको उपयोग गरी कृषि व्यवसायमा लाग्छु भन्ने सङ्कल्पले अहिले राजनीतिसँगै कृषि व्यवसाय गरिरहेको बताउनुभयो ।