• ९ पुस २०८२, बुधबार

गोरखा ५ मा माओवादीका मगर विजयी

blog

वडाध्यक्षमा निर्वाचन विष्णुबहादुर राना मगर । तस्बिर ः नरेन्द्र ढकाल

नरेन्द्र ढकाल

गोरखा, मङ्सिर १७ गते । गोरखा नगरपालिका वडा नं. ५ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका विष्णुबहादुर राना मगर विजयी हुनु भएको छ । आइतबार भएको उपनिर्वाचनमा निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भाइकाजी आलेलाई ८४ मतले पछि पार्दै उहाँ विजयी हुनु भएको हो । 

रानाले ४८६ मत ल्याउँदा आलेको ४०२ मत मात्र आएको छ । यसै गरी नेकपा एमालेकी दुर्गामाया थापा रानाले ३४५ मत ल्याउनु भएको छ  । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका मङ्गलबहादुर थापाको ८२ भोट आएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी कल्पना रानाको १२, जनता समाजवादी पार्टी (नयाँ शक्ति) का रुपेश मग्रातीको १०, मङ्गोल नेशनल अग्रनाइजेसनकी भवानी थापा मगरको ९, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रुपसिहं रानाको ५, नेशनल रिपब्लिक नेपालकी सबिना तामाङको ४ मत आएको छ । 

कुल २ हजार २२५ मतदाता रहेको त्यहाँ १ हजार ३७३ मत खसेको थियो । जस अनुसार कुल मतदाताको ६१.७१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जानकारी दिएको छ । त्यसमध्ये १८ मत बदर भएको थियो । खसेको मध्ये ९८.७ प्रतिशत मत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

आइतबार बिहान ७ बजे देखि साँझ ५ बजेसम्म दुई मतदान स्थलका तीन मतदान केन्द्रमा निर्वाचन भएको थियो । जस अन्तर्गत गोरखकाली आधारभूत विद्यालय मतदान केन्द्रमा ४५८ जना मतदान   गरेका थिए । यसै गरी शिव शक्ति आधारभूत विद्यालय (क) केन्द्रमा ४६९ र (ख) केन्द्रमा ४४६ मत खसेको कार्यालयका सूचना अधिकारी रबीलाल सुवेदीले जानकारी दिनुभयो । गोरखकाली आधारभूत विद्यालय मतदान केन्द्र स्वाँरा ७२४,  शिव शक्ति आधारभूत विद्यालय मतदान केन्द्र अमराइँ ‘क’ मा ७२८ र ‘ख’ मा ७७३ मतदाता रहेका थिए । 

२०७९ को स्थानीय निर्वाचनबाट वडाध्यक्ष बनेका खिलबहादुर रानाको सोही वर्ष निधन भएपछि अहिले उपनिर्वाचन भएको हो । उक्त वडाका ४ वडा सदस्य भने काँग्रेसले जितेको थियो । रानाको निधन पनि वडाध्यक्ष सदस्य हरिराम पोखरेलले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।