चन्द्र पन्दाक
ताप्लेजुङ, मङ्सिर १६ गते। ताप्लेजुङमा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगितामा आइतबार भएको खेलमा इलामको रेड डेभिल्स माइजोगमाई विजयी भएको छ। मोरङको डाँगीहाट फुटबल क्लबलाई प्यानल्टी सुटआउटमा ४–२ गोलअन्तरले पराजित गर्दै माइजोगमाई विजयी भएको हो।
निर्धारित समयावधिमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय प्यानल्टी सुटआउटमार्फत भएको हो। रेड डेभिल्स माइजोगमाई विजयी भएसँगै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार भएको उद्घाटन खेलमा आयोजक कञ्चनजङ्घा फुङ्लिङ क्लबलाई हराउँदै तेह्रथुमको सम्दु फुटबल क्लब विजयी भएको छ।
चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा चासोक तङ्नाम सञ्चालन समिति, कञ्चनजङ्घा फुङ्लिङ क्लब र ङावोरक सङजुम्भो फुङलेङले संयुक्त रूपमा प्रतियोगिता आयोजना गरेका हुन्। यसै साताको बुधबार सम्पन्न हुने प्रतियोगितामा भारत, सिलिगुढीको एकसहित आठ टोली सहभागी भएका छन्। उद्घाटन खेल र आइतबारको खेलमा पराजित भएको टोली भने प्रतियोगिताबाट बाहिरिएका छन्।
प्रतियोगिताको विजेताले ट्रफीसहित तीन लाख दुई हजार ८१ रुपियाँ र उपविजेताले एक लाख ५१ हजार ८१ रुपियाँ नगद पुरस्कार पाउने छन्। सोमबार सुनसरीको गोधुली फुटबल क्लब धरान र कञ्चनजङ्घा फुटबल क्लब सिलगुढीबिच खेल हुने चासोक तङ्नाम सञ्चालन समितिका संयोजक चन्द्रकुमार थेबेले जानकारी दिनुभयो। प्रतियोगिता भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा भइरहेको छ।